प्रतिकूल मौसमका कारण आठाैं राष्ट्रिय खेलकूद प्रतियोगिताको भौतिक पूर्वाधार निर्माणमा अवरोध भएको छ । माघ र फागुन महीनामा पटक–पटक भएको बर्सातले लक्ष्यअनुसार निर्माणको काम हुन नसकेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले बताए । नेपालगञ्जमा मङ्गलबार रातिदेखि बुधबार दिनभर वर्षा भएको थियो ।
बर्सातका कारण प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रङ्गशालाको निर्माणमा अवरोध भएको उनले बताए ।
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरेर निर्माण भइरहेका अधिकांश भौतिक संरचनाको कार्य करीब सम्पन्न भए पनि नेपालगञ्ज रङ्गशाला र दाङको बेलझुण्डी रङ्गशालाको निर्माण कार्य अझै बाँकी रहेको उनको भनाइ छ ।
नेपालगञ्ज रङ्गशालामा दुबो रोप्ने र प्याराफिट निर्माण कार्य भइरहेको छ । फागुन मसान्तसम्म ९० प्रतिशत काम पूरा हुने अध्यक्ष वलीले दाबी गरे । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ भित्रै सम्पन्न गर्ने गरी भौतिक पूर्वाधारको तयारीदेखि खेलाडी छनोट कार्यलाई तीव्र पारिएको पनि उनले बताए।
राष्ट्रिय खेलकूदको प्रतीक चिह्न नेपालगञ्जमा
प्रदेश ५ को नेपालगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको प्रतीक चिह्न (मस्कट) नेपालगञ्ज ल्याइएको छ ।
इटहरीको भद्रकाली कला कुञ्जले तयार गरी ल्याइएको मस्कटमा हात्तीको छावाकोे चित्र अङ्कित रहेको छ । सिमेन्ट र फाइबरको प्रयोग गरी तयार भएको मस्कट डेढ लाख रुपैयाँको लागतमा तयार भएको भद्रकाली कला कुञ्जका व्यवस्थापक हरि पौडेलले जानकारी दिए ।
मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष वलीले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय खेलकूद प्रतियोगिताकोे मस्कटमा हात्तीको छावाकोे चित्र अङ्कित गरेको बताए । रासस