प्रदेश नम्बर ५ स्तरीय टेवल टेनिस छनोट प्रतियोगिताको मेन्स् सिंगलमा बाँकेका टेन्डी शेर्पा र वुमन्स सिंगलमा रुपन्देहीकी अमिता थापा च्याम्पियन बनेका छन्।
मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति नेपालगञ्ज र दाङ जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा दाङको तुलसीपुरमा सम्पन्न प्रतियोगिताको फाइनलमा रुपन्देहीका कपिल थापालाई ४–२ को सेटमा पराजित गर्दै टेन्डी मेन्स् सिंगलको च्याम्पियन बनेका हुन्।
यसैगरी, दाङकी पवित्रा खनाललाई फाइनलमा ४–० को सोझो सेटमा पराजित गर्दै अमिता ओमन्स सिंगलको च्याम्पियन बन्न सफल भइन्। बृहत आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५ मा प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्न फागुन १९ गतेदेखि संचालन भएको प्रतियोगितामा प्रदेश नम्बर ५ का ११ जिल्लाका महिला र पुरुष गरी ४८ जना खेलाडीबीच कडा प्रतिस्पर्धा भएको थियो।
प्रतियोगिताबाट मेन्स् सिंगलतर्फ बाँकेका टेन्डी शेर्पा, रुपन्देहीका कपित थापा, प्युठानका प्रजोल केसी, रुपन्देहीका प्रवेश बस्नेत र कपिलवस्तुका तिलक अधिकारी तथा वुमन्स सिंगलतर्फ रुपन्देहीका अमिता थापा, दाङकी पवित्रा खनाल, रुपन्देहीका स्वीकृती श्रेष्ठ, दाङकी रोषणी अधिकारी र गीता अर्याल प्रदेश नम्बर ५ टेवल टेनिसको छनोटमा पर्न सफल भएका छन्।