तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) मंसिरमा हुने भएको छ । यसअघि फागुनमा गर्ने गरि मिति तोकिए पनि प्रतियोगिताको मुख्य उद्घाटनस्थल त्रिपुरेश्वरको दशरथ रंगशालाको पुनर्निमाण कार्य समयमै पूरा नभएपछि भदौमा सार्ने तयारी गरिएको थियो । तर काठमाडौं उपत्यका र पोखरामा गर्ने गरि तयारी गरिएकाले त्यतिबेला वर्षातले समस्या पार्ने भएपछि नयाँ मिति खोजिएको हो ।
१२ औं साग भारतको गुहावटीमा सम्पन्न हुँदा नेपालले १३ औं साग आयोजना गर्ने जिम्मेवारी लिएको थियो । सरकारले नोभेम्बर १५ देखि डिसेम्बर १५ को बीचमा प्रतियोगिता आयोजना गराउन सरकार तयार रहेको निष्कर्षसहित दक्षिण एशियाली ओलम्पिक कमिटिमा प्रस्ताव पेश गरेको थियो । कमिटिका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले थाइल्याण्डमा बसेको बैठकले डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमै प्रतियोगिता आयोजना गर्ने निर्णय भएको जानकारी दिए । त्यतिबेलासम्म पूर्वाधार तयार भइसक्ने भएकाले डिसेम्बर अर्थात मंसिर १५ देखि २४ गतेसम्म प्रतियोगिता आयोजना गर्न सजिलो हुने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
उनले २०१९ को डिसेम्बर १ देखि १० सम्म साग आयोजना गर्ने निर्णय गरेको बताए । साग डिसेम्बरमा आयोजना गर्ने अनुमती तथा निस्कर्ष सहितको निर्णयको पत्रका साथ खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना बैंककको दक्षिण एशियाली ओलम्पिक काउन्सिल बैठकमा सहभागी भएका थिए ।
सागमा २३ खेल भएकोमा २ खेल आयोजक राष्ट्रले समावेश गर्न पाउने प्रावधानअनुसार पाराग्लाईडिङ्ग र क्रिकेटलाई पनि समावेश गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनले अगष्टसम्म सवै भौतिक पूर्वाधार सम्पन्न भईसक्ने र प्रतियोगिता आयोजना गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले राष्ट्रको प्रतिष्ठासंग जोडिएको साग आयोजना गर्न सवै किसिमका वाधा अवरोधलाई हटाई आवश्यक बजेट निकाशा गर्नुका साथै भौतिक पूर्वाधारलाई पनि समयमै सम्पन्न गर्न परिषद दत्तचित्त भएर लाग्ने बताए ।