अस्ट्रेलियाविरुद्धकाे तेस्रो एक दिवसीय क्रिकेटमा भारत पराजित भएको छ।
राँचीमा भएको खेलमा घरेलु टोली भारत अस्ट्रेलियासँग ३२ रनले पराजित भएको हो। ३१४ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभर दुई बलमा सबै विकेट गुमाएर २८१ रन मात्रै बनायो।
भारतका लागि विराट कोहलीले ९५ बलमा १६ चौका र एक छक्काको सहयोगमा १२३ रन बनाए। कोहलीले एक दिवसीय क्रिकेटमा ४१ औँ शतक बनाएका हुन्।
यस्तै विजय शंकरले ३२, महेन्द्र सिंह धोनी र केदार जाधवले समान २६ तथा रवीन्द्र जडेजाले २४ रनको योगदान दिए पनि हार टार्न सकेनन्।
अस्ट्रेलियाका प्याट कमिन्स, जायी रिचर्डसन र एडम जाम्पाले तीन/तीन विकेट लिए। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा ३१३ रन बनायो।
उसका लागि उसमान खावजाले ११३ बलमा ११ चौका र एक छक्काको सहयोगमा १०४ रनको योगदान दिए।
यस्तै एरोन फिन्चले ९९ बलमा १० चौका र तीन छक्काको सहयोगमा ९३ तथा ग्लेन म्याक्सवेलले ३१ बलमा ४७ रन बनाए।
भारतका कुलदीप यादवले तीन विकेट लिए। लगातार दुई खेलमा जित निकालेको भारतले तेस्रो खेलमा हार बेहोरे पनि पाँच एक दिवसीय शृङ्खलामा २–१ को अग्रता भने कायमै राखेको छ।