विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने पाचौं साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।
पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिक वाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ(एन्फा)का सदस्य एवं प्रचारप्रचार समितिका संयोजक किरण राईले जानकारी दिए।
साफ महिला फुटबल प्रतियोगिता सञ्चालन हुने शहीद रङ्गशालाको रङ्गरोगन, महिलामैत्री रङ्गशाला, चेञ्जिङ रुम, महिलामैत्री शौचालय, खेलाडी, प्रशिक्षक बस्ने स्थान लगायतका अन्य सम्पूर्णकार्य सम्पन्न भएको उनले बताए। संयोजक राईले विदेशी खेलाडीले अभ्यास गर्ने खेल मैदान विराटनगरको जुट मिल तथा दिल्ली पब्लिक स्कुल विराटनगर र सुनसरी दुहबीको खेल मैदानको स्तरोन्नति तथा व्यवस्थापन लगायतका सबै तयारी पूरा भएको जानकारी दिए।
अखिल नेपाल फुटवल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले विराटनगरमा भएको खेल मैदान अन्तर्राष्ट्रियस्तरको रहेको र आवश्यक सम्पूर्ण सुविधा खेलाडीलाई उपलब्ध गराइने बताए। प्रतियोगिता सञ्चालन गर्नका लागि विराटनगर महानगरपालिकाले एक करोड र प्रदेश सरकारले ५० लाख सहयोग गरेको जानकारी दिँदै प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सय भन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशिक्षकको सहभागिता रहने छ।
नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुने सो प्रतियोगितामा फागुन २८ गते नेपाल र भूटानबीच उद्घाटन खेल हुने छ। प्रतियोगिताको ‘ए’ समूहमा नेपाल, भूटान र बङ्गलादेश रहेको छ भने ‘वी’ समूहमा भारत, श्रीलङ्का र मालदिभ्सको महिला टिम छ।
प्रतियाेगितास्थल शहीद रंगशालाकाे तयारी फाेटाेमाः
तस्वीर साैजन्यः एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाकाे फेसबुक