स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले रायो भालेकानोलाई पराजित गरेको छ।
शनिबार राति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र जिरार्ड पिकेले एक एक गाेल गरेका छन्। रायो भालेकानोका लागि भने टोमस गोमेजले गोल गरेका थिए।
सुरुवाती अग्रतालाई जोगाउन नसक्दा रायो भालेकानोले हार ब्यहोरेको हो। २४औं मिनेटमा नै गोमेजले गोल गर्दै रायोलाई अग्रता दिलाएका थिए। तर ३८औं मिनेटमा पिकेले गोल गर्दै खेलमा १–१ गोलको बराबरी ल्याएका थिए।
५१औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए। त्यस्तै, खेलको ८२औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको जित दिलाए। जितसँगै बार्सिलोनाको २७ खेलबाट ६३ अंक भएको छ।