विश्व फुटसल महासंघको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ।
आयोजकले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको छ। अर्जेन्टिनामा हुने प्रतियोगितामा १६ टोली सहभागी छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ जसमा नेपाल समूह ‘डी’ मा परेको छ। नेपालको समूहमा क्यानडासहित क्याटलना र फ्रान्स छन्।
आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल चैत १८ गते क्यानडासँग खेल्नेछ। त्यस्तै नेपालले दोस्रो खेलमा चैत १९ गते क्याटलनासँग र समूहको अन्तिम खेल चैत २० गते फ्रान्ससँग खेल्नेछ।
समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन्। उक्त प्रतियोगिताका लागि नेपाल फुटसल सङ्घले खेलाडी छनोट गरिसकेको जनाइएको छ। उक्त विश्वकप फुटसलमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो।