चौथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।
सोमबार झापाको डोमालाल राजवंशी रंगशालामा भएको फाइनलमा घरेलु टोली झापा ११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो। उपाधिसँगै आर्मीले १२ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ।
२२ औं मिनेटमा झापाका खेलाडीले आर्मीका कप्तान भरत खवासलाई फल गरेपछि डी बक्सबाहिरबाट पाएको फ्री किकलाई सन्तोष तामाङले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। यसैगरी ३३ औं मिनेटमा भरत खवासले गोल गर्दै अग्रता दोब्बर बनाए। नवयुग श्रेष्ठले प्रहार गरेको बल किलियर गर्न नसक्दा खवासले जाली चुमाएका थिए।
खेलको ४३ औं मिनेटमा झापा ११ का लागि फ्रान्सिसले गोल गर्दै पहिलो हाफमा अग्रता २–१ मा झारेका थिए। ५४ औं मिनेटमा झापाका लागि हेमन गुरुङले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।
तर, खेलको ७५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै फेरि आर्मीलाई ३–२ को अग्रता दिलाए। ८५ औं मिनेटमा आर्मीका सन्तोष तामाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि अग्रता दोब्बर बनायो।
इन्जुरी समयमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई ५–२ को अग्रता दिएका थिए। अन्तिम समयमा झापा ११ ले तेस्रो गोल गरेपनि त्यो जितका लागि प्रयाप्त भएन र आर्मीले खेल ५–३ ले जित्यो।