पाँचौं साफ महिला च्याम्पियनसिप आजदेखि विराटनगरमा शुरुहुँदै छ।
यसअघि काठमाडौं उपत्यकामा मात्रै प्रतियोगिता सञ्चालन गर्दै आएको अखिल नेपाल फुटबल संघ एन्फाले पाँचौं साफ राजधानी बाहिर आयोजना गरेको हो।
विराटनगरको शहीद रंगशालामा आज दिउँसो नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिता उद्घाटन गर्ने छन्। प्रतियोगितामा सात टिमको सहभागीता हुने बताइए पनि अन्तिम समयमा पाकिस्तानले प्रतियोगिता नखेल्ने निर्णय लिएको थियो। जसका कारण साफ महिला च्याम्पियनसिप खेल्न यतिबेला विराटनगरमा नेपाल सहित ६ देशका खेलाडी तथा अफिसियलहरु पुगिसकेका छन्।
प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ। निरु थापाको कप्तानीमा रहेको नेपाली टिमको गोलकिपरमा अन्जना रानामगर, उसा नाथ, अन्जली तुम्बाहाम्फे सुब्बा, डिफेन्डरमा हिरा, कुमारी भुजेल, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, कविता धिमाल, पूजा राना, मनमाया लिम्बू रहेका छन्।
यसैगरी मिडफिल्डमा अनिता बस्नेत, दीपा राई, मन्जली कुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बू, रेणुका नगरकोटी र अनिता केसी रहेका छन्। यसैगरी फरवार्डमा रेखा पौडेल, कप्तान निरु थापा र सावित्रा भण्डारी रहेका छन्। नेपाल र भुटानकाे खेल दिउँसाे ३ बजे शुरु हुने छ।