च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले लियोनलाई ५-१ ले पराजित गरेको छ। पहिलो लेग गोल रहित बराबरीमा सकिएकोमा दोश्रो लेगको नतिजाले बार्सिलोनाले संमग्रमा ५-१ जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ।
लियोनलाई हराउने क्रममा बार्सिलनाले पहिलो गोल खेलको १६ औं मिनेटमा लिएको थियो। लुइस सुआरेजलाई जेसन डेनाएरले पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेस्सीले गाेल गरेका थिए।
खेलको ३१ औं मिनेटमा सुआरेजको पासलाई कोउटिन्होले गोलमा परिणत गरेका थिए।
पहिलो हाफमा २-० ले पछि परेको लियोनले खेलको ५८ औं मिनेटमा गोल फर्काएको थियो। सो गोल लुकास टुसार्टले गरेका थिए। यसरी २-१ को अवस्थामा पुगेको नतिजालाई बार्सिलोनाले मेसीको गोलमा ३-१ बनायो। सो गोल उनले ७८ औं मिनेटमा गरेका थिए। त्यस लगत्तै ८१ औं मिनेटमा चौथो गोल जेरार्ड पिकले गरे।
यसैगरी खेलको ८६ औ मिनेटमा बार्सिलोनाका लागि ओस्मान डेम्बेलेले पाँचौ गोल गरे। च्याम्पियन्स लिगक ड्र शुक्रबार सार्वजनिक गरिनेछ।