कर्णालीमा चालु आर्थिक वर्षभित्र पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित कर्णाली–रारा पर्यटन वर्ष २०७५ घोषणा गरेको तीन महिनाभन्दा बढी भइसक्यो।
पर्यटनमार्फत् आर्थिक समृद्धिका लागि भन्दै प्रदेश सरकारले तामझामका साथ गत बैशाख १ मा रारामा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भव्यताका साथ पर्यटन वर्षको शुभाम्भ पनि गर्यो। तर, संख्यात्मक प्रगति देखाउने प्रण गरेको प्रदेश सरकारसँग भने यो तीन महिनाको अवधिमा कति पर्यटक भित्रिए भन्ने कुनै तथ्याङ्क छैन।
मौसमका हिसाबले पनि बैशाखदेखि असारसम्म रारा जान उपयुक्त समय हो। यो तीन महिनाको अवधिमा कति पर्यटक रारा घुम्नकै लागि कुन क्षेत्रबाट आएका छन् भन्ने कुनै तथ्यांक सरकारले राख्न सकेको छैन। पर्यटन विकास नै कर्णालीको आधार मानेको प्रदेश सरकारसँग भने पर्यटक कसरी भित्र्याउने भन्ने योजना छैन। अभिलेख अहिलेसम्म राख्न नसक्नुले पर्यटन वर्षको लक्ष्यअनुसार वर्षको अन्तिममा कस्तो तथ्याङ्क सार्वजनिक हुने हो भन्ने आम नागरिकमा शंका उत्पन्नसमेत भएको छ।
प्रदेश सरकारले अहिलेसम्म योजना सार्वजनिक नगरेपछि कर्णालीका नागरिकले हचुवाका भरमा अभियान सञ्चालन गरिएको आरोप लगाएका छन्। प्रदेशको पर्यटनको मुख्य निकाय पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले पनि सरकारले गत आर्थिक वषर्ममा पर्यटन प्रवद्र्धनका लागि विनियोजन गरेको बजेटसमेत खर्चिन सकेन। पर्यटन वर्ष उद्घाटनमा ६३ लाख रुपैयाँ खर्चिएको सरकारले त्यसपछि तीन महिना पुगिसक्दा समेत रारामा के भएको छ भन्ने रिपोर्ट लिएको छैन। कति पर्यटक भित्रिए र तिनीहरुले कति रोयल्टी तिरेका छन् भन्ने पनि कुनै तथ्याङ्क अहिले प्रदेश सरकारसँग छैन। हालसम्म पर्यटक आवागमनको तथ्यांक संकलन गर्ने संरचना पनि निर्माण हुन सकेको छैन। संघीय संरचनाअनुसार संकलन गरिएको तथ्यांकसमेत मन्त्रालयसँग नभएको पाइएको छ।
रारामा मात्रै होइन, कर्णालीमा पर्यटकीय क्षेत्रमा घुम्न कति पर्यटक आएका छन् भन्ने पनि तथ्याङ्क अभिलेख गरिएको छैन। हवाई यात्रामार्फत् कर्णालीमा पुगेका बाह्य पर्यटकको तथ्याङ्क सम्बन्धित विमानस्थलसँग भएपनि सरकारले भने आफैले संकलन गर्ने संयन्त्र निर्माण गर्न सकेको छैन। तर, व्यवस्थितरुपमा विगतदेखि नै तथ्यांक संकलन हुने क्षेत्रमा भने उनीहरुले नै राख्ने गरेका छन्। जसले गर्दा महिनामा कति जना आन्तरिक र बाह्य पर्यटकहरूले अवलोकन गरे भन्ने बारेमा प्रदेश सरकार जवाफविहीन छ।
पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयका शिवराम अधिकारीले कर्णालीका पर्यटकीय स्थलहरूमा कति पर्यटक भित्रिए भन्ने बारेमा कुनै अभिलेख राख्ने नगरिएको जानकारी दिए। मन्त्रालयमा कर्मचारी र बजेट अभावका कारण पर्यटकीय क्षेत्रमा कुनै कार्यक्रम गर्न नसकिएको उनको भनाइ छ। भव्यताका साथ पाँच लाख पर्यटक भित्र्याउने घोषणा गरिएपनि अभिलेख राख्ने संयन्त्र नहुँदा मन्त्रालयलाई सूचना माग्न आउनेलाई के तथ्यांक हातमा थमाउने भन्ने चिन्ता छ।
पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने, सामुदायिक होटल स्थापना गर्ने लगायतका कार्यक्रमका लागि मन्त्रालयले तयारी गरिरहेको छ। अभिलेख राख्नका लागि प्रत्येक जिल्लामा समन्वय समिति गठनको प्रक्रियामा जान निर्देशन दिइसकेको कर्णाली प्रदेशका पर्यटनमन्त्रीले नन्दसिंह बुढाले बताए। बजेट नहुँदा लक्ष्य अनुसारको काम लगाउन नसकेको भन्दै उनले उनीहरुमार्फत नै स्थानीय तहका पर्यटकीय सम्पदाहरूको सूची संकलन गरी रणनीतिक योजना बनाउने बताए।
पर्यटन विकासमा ९८ करोड
मन्त्री नन्दसिंह बुढाले ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिए। उनले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने हेतुले कूल बजेटको ५२ प्रतिशत रकम यसमा विनियोजन गरेको बताए। ‘कर्णाली प्रदेश सरकारले वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को विधिवत् उद्घाटन प्रधानमन्त्री केपी ओलीबाट गराइसकेको छ, त्यसले गर्दा पर्यटक आउनेक्रम बढेको छ’ मन्त्री बुढाले भने। तर, उनीसँग पनि हालसम्म कति पर्यटक भित्रिएका छन् भन्ने कुनै तथ्यांक छैन।
पर्यटकीय पूर्वाधार निर्माणार्थ रारामा तीन करोड, डोल्पामा दुई करोड, हिमालय गे्रट ट्रेलका लागि दुई करोड, बुलबुले ताल निर्माणमा पाँच करोड र काँक्रेविहारका लागि १० करोड बजेट विनियोजन गरिएको हो। उनका अनुसार प्रदेशका १० वटै जिल्लाको भिडियो डकुमेन्ट्री संकलन गरी प्रदेशको पर्यटन विकासको खाका तयार गरिने छ। कर्णाली प्रदेश सरकारले पर्यटन प्राधिकरणको विचार ल्याए पनि अन्त्यमा पर्यटन बोर्ड नै आवश्यक छ भन्ने निष्कर्षमा पुगेको पनि मन्त्री बुढाले बताए।