सुर्खेत बुलबुले जाम्ला, नाचम्ला मादलको तालैमा...। यो गीतले भनेझै सुन्दर र चर्चित छ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेकाे बुलबुले ताल।
सुन्दर र चर्चित हुँदाहुँदै पनि केही समयअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटकीय गन्तव्य भनेर सार्वजनिक गरेको पर्यटकीय स्थलमा भने पर्न असफल भयो यही बुलबुले ताल। तर, पनि यो तालमा जाने अन्तरिक तथा बाह्य पर्यटकको कमी छैन। तिहार सकिएलगत्तै बुलबुले उद्यानमा पिक्निक खान आउनेको आजभोलि लर्को नै लाग्ने गरेको छ।
यो समय यही तालममा पिक्निक खान र रमाइलो गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको लाम नै लाग्छ। शुक्रबार मात्रै बुलबुले ताल क्षेत्रभित्र करिव एक दर्जन पिक्निक टोली थिए। सुर्खेतका साथै छिमेकी बाँके, कैलाली, बर्दिया, दाङ जिल्लाबाट समेत पिक्निक खान आउनेको लर्को लाग्छ। बुलबुलेमा पिक्निकका साथै डुंगा शयरले पनि पर्यटकको मन तान्दै आएको छ। बुलबुले तालको दक्षिणतर्फ रहेको अर्को ठूलो तालमा दुई वटा डुंगा सञ्चालनमा ल्याइएको छ । एउटा डुंगामा ८ जनासम्म अट्ने र प्रति व्यक्ति ५० रूपैयाँ तोकिएको छ ।
अन्य दिनभन्दा शनिबारको दिन डुंगा चढ्नेहरूको भीड लाग्ने गरेको छ। विगतको तुलनामा अहिले बुलबुले उद्यानको सुन्दरता बढाइएको पिक्निक खान आएकी कोहलपुरकी सबिना पौडेलले बताइन्। पहिले पनि बुलबुलेमा घुम्न आएको बताउँदै उनले विगतभन्दा अहिले बुलबुलेमा धेरै परिवर्तन भएको सुनाइन्। उनले भनिन्,‘बगैंचा, पानीको फोहोरा, तालमा दुई वटा डुंगा सञ्चालन गरिएको रहेछ। मलाई त रमाइलो लाग्यो घुम्न पाउँदा।’ उनले बुलबुलेको सुन्दरताले पटक पटक सुर्खेत आउन मन लागेकोे बताइन्। यद्यपि अझैपनि बुलबुलेको सुन्दरता वृद्धि गर्नुपर्ने उनको भनाइ छ।
सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले मन्त्रालयले गन्तव्य छनौटमा पनि विभेद गरेको बताउँदै बुलबुले तालमा तिहार सकिएलगत्तै पिक्निक खान आउनेको लर्को लाग्ने गरेको बताए। उनले सुर्खेतको चर्चित बुलबुले ताललाई पर्यटकीय गन्तव्यमै नपार्नुले हतारमा निर्णय गरिएको आरोप समेत लगाए।
पछिल्लो पटक बुलबुले तालको स्वरूप फेरिएको छ। शान्ति बाटिका, डुंगा शयर, पानीको फोहोरा, वरिपरि पर्खाल लगाउने लगायतका कामहरू भएको र विगतको तुलनामा भन्दा अहिले बुलबुले आकर्षक बनेको छ। अध्यक्ष कोइरालाका अनुसार एक करोड बढीको लागतमा बुलबुलेको संरचनाको काम भइरहेको छ। साढे ३१ विगाह क्षेत्रफलमा फैलिएको बुलबुले जिल्लाकै पहिलो गन्तव्यमा पर्छ।
पर्यटन मन्त्रालयले बुलबुले ताललाई पर्यटकीय गन्तव्यमा नपारेपनि यसको ख्याति र सुन्दरताले पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ।