सार्क राष्ट्रकैै नमूना गाउँको रूपमा परिचित लमजुङको घलेगाउँ नेपालको पहिलो ‘स्मार्ट भिलेज’ बनेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको उपस्थितिमा घलेगाउँलाई स्मार्ट भिलेजका रूपमा शुभारम्भ गरिएको हो।
दक्षिण एसियामै कहलिएको गाउँको नाम घलेगाउँ, जिल्लाको पहिलो होमस्टे (घरवास) घलेगाउँ, सार्क राष्ट्रकै नमूना गाउँको पहिचान कमाउन सफल घलेगाउँ २०५७ सालवाट होमस्टे (घरबास) शुरू गरेको थियो।
अहिले पर्यटन प्रवद्र्धन गर्दै होमस्टे कार्यक्रम सञ्चालनमार्फत ३५ घरमा होमस्टे सेवा सञ्चालित छ। गाउँको विकासका दौरानमा ‘स्मार्ट भिलेज’ को अवधारणालाई निरन्तरता दिँदै घलेगाउँले नेपालको पहिलो ‘स्मार्ट भिलेज’ सम्मको पदवी प्राप्त गर्यो।
घलेगाउँ नै स्मार्ट भिलेज किन?
संस्कार र संस्कृतिमा घलेगाउँ धनी छ। गाउँमा आउने पर्यटकहरूलाई मनोरञ्जनका लागि गुरूङ जातिको संग्रहालय, गुरूङ संस्कृतिमा आधारित घाँटु, कृष्ण चरित्र, झ्याउरे, सोरठी नाँच, घ्याब्रे नाचसँगै पर्यटकहरू सहजै रमाउन र घुलमिल गर्न सक्छन्। गाउँवाट चारैतिर मनोरम सेताम्य हिमालको टाकुरा, मनमोहक दृश्यावलोकन, हरिया चियाबगान, भ्यूटावर, भेडीगोठ गाउँमा देख्न सकिन्छ।
खेलकुद मैदान, सरसफाई, सुरक्षाको दृष्टिकोणले घलेगाउँ उचित छ। स्मार्ट भिजेलका लागि आवश्यक पूर्वाधारका कारण घलेगाउँ उचितले भएकाले स्मार्ट भिलेजको शुभारम्भ गििरएको क्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घले बताए।
स्मार्ट भिलेजका लागि आवश्यक पर्ने पूर्वाधार अझै विकास गरी नेपालकै राम्रो गाउँ बनाउने उनको योजना छ। अहिले शुभारम्भ गरेको र आउँदो चैत महिनासम्म प्रधानमन्त्रीलाई ल्याएर स्मार्ट भिलेज घोषणा गर्ने उनले बताए।
मनमोहक प्राकृतिक दृश्य
हिमश्रृङ्खलाको काखमा अवस्थित घलेगाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ। गाउँ वरिपरि मनमोहक दृश्यावलोकनका प्राकृतिक हरियाली पहाड, फाँट र गहिरा खोल्साखोल्सीहरू। हरिया चियाबगान, भ्यू टावर, भेडीगोठ, उत्तरकन्या मन्दिर, पोखरी र अन्य सुन्दर प्राकृतिक छटाले मन आनन्दित हुन्छ।
माछापुच्छ्रे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रंखलाको मनोरम दृश्यले मोहित हुने आगन्तुक पाहुनाहरू विहानभर क्यामेरा, मोबाइलमा आफ्ना तस्वीर कैद गरेरै बिताउँछन्।
गाउँ नजिकै डाँडामा भ्यू टावर निर्माण गरिएको छ। त्यहाँबाट सूर्योदय र सूर्यास्तको राम्रो अवलोकन गर्न सकिन्छ। गाउँबाट हेर्दा चारैतिर देखिने मानव वस्तीहरू र साँझ अधेँरीमा देखिने झिलमिल उपत्यका तथा नागबेली हुँदै बगेको मस्र्याङ्दी नदीको दृश्यले सबैलाई लोभ्याउँछ।
होमस्टे सञ्चालकको आम्दानी कति?
१ सय २० घरधुरी रहेको घलेगाउँमा ३५ घरमा होमस्टे सञ्चालन गरिएको छ। गाउँस्थित दलित बस्तीमा दुईवटा सुधारिएका होमस्टेमा सञ्चालनमा छन्। घलेगाउँमा हाल दैनिक ३ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घलेगाउँ पर्यटक विकास समितिले जनाएको छ।
घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिक स्तर पनि उकासिँदै गएको छ। गाउँमै बसेर मासिक ६० देखि ७० हजार रूपैयाँ आम्दानी हुने होमस्टे सञ्चालक यमुना घलेले बताइन्। होमस्टे शुरू भएदेखि गाउँलेहरूलाई बालबच्चाको शिक्षादिक्षामा कुनै कठिनाई नभएको उनको भनाइ छ।
राडी, पाखी, बख्खु, गलैचा लगायतका वस्तुहरू उत्पादन गरी बिक्रि गर्ने गरिन्छ।
स्थानीय परिकार
घलेगाउँको होमस्टेमा स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरू पर्यटकको माग अनुसार स्थानीय परिकार खुवाइने होमस्टे सञ्चालक पुतलीकाशी घलेले बताइन्। खानाका परिकारहरूमा सिस्नोको फाँडो, टिमुरको अचार, लोकल कुखुरा, भात, ढिडो, बारीमा फलेको आलु र लोकल चामल हुन्।
मनोरम वातावरण, न्यानो आतिथ्यतासँगै आफ्नै घरमा बसेको जस्तो अनुभुति दिलाई स्थानीय परिकारमा रमाउने वातावरण पाइने हुँदा पर्यटकहरू पनि मोहित हुने र होमस्टेप्रति आकर्षित बन्ने गरेका छन्।
पर्यटक लोभ्याउने चियाबारी
पश्चिमाञ्चलमा पहिलोपटक सुरू गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षित गर्न थालेको छ। घलेगाउँ क्षेत्रमा लगाइएको चिया बगानले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको हो।
पछिल्लो समय बगान हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको घलेगाउँका स्थानीय ललिता गुरूङले बताइन्। हिमालकै काखमूनि रहेर चियाबारीमा रमाउन सार्क राष्ट्रकै नमूना ग्रामिण पर्यटकीय घलेगाउँ पर्यटकको प्रमुख गन्तव्य स्थल बनेको छ।
घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले प्राकृतिक सुन्दरतासँगै चिया बगान पर्यटकको रोजाइमा पर्नु सुखद भएको बताए। ‘पहिले यहाँको प्रकृति र संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारीको आकर्षण पनि थपिएको छ’, उनले भने।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र आयोजना (एक्याप) भुजुङको पहलमा २०५५ सालदेखि घलेगाउँमा चियाखेती सुरू गरिएको हो। जुन अहिले ७० रोपनी बढी क्षेत्रमा फैलिसकेको छ। चियाखेती विस्तारका लागि जिल्ला भू–संरक्षण कार्यालयले समेत सहयोग गरेको छ। यहाँ उत्पादित चिया गाउँमा आएका पर्यटकका लागि र गाउँ बाहिर रहेका आफन्तजनलाई कोसेलीका रूपमा पठाउने गरेको स्थानीयवासी बताउँछन्।
कसरी जाने घलेगाउँ?
गण्डकी प्रदेश अन्तर्गत लमजुङको क्होलासोँथर गाउँपालिका–३ मा पर्ने घलेगाउँ समुद्रिक सतहबाट २ हजार १ सय मिटर उचाइमा छ। काठमाडौंबाट १ सय ७५ किलोमिटर र लमजुङ सदरमुकाम बेसीशहरबाट २७ कि.मी. पश्चिम–उत्तर दूरीमा अवस्थित छ। सदरमुकाम बेसीसहरबाट तीनवटा मार्ग हुँदै घलेगाउँ आवतजावत गर्न सकिन्छ।
पहिलो मार्ग बेसीशहरदेखि बाग्लुङ्पानी, कपुरगाउँ हुँदै घलेगाउँ पुग्न सकिन्छ भने अर्काे बेसीशहरदेखि सिम्पानी, भलामचौर हुँदै पुगिन्छ र बेसीशहरदेखि खुदी, रोपलेफाँट, घनपोखरा नायुँ हुँदै पनि घलेगाउँ पुग्न सकिन्छ। गाडीमा साढे २ देखि ३ घण्टा र पैदल यात्रामा ६ देखि ७ घण्टामा घलेगाउँ पुग्न सकिन्छ।