चलचित्र ‘मिस्टर भर्जिन’को मोफसल टुर सकिएको छ। पोखराबाट सुरु भएको मोफसल टुर बुटवल, चितवन, हेटौंडा, धरान, बिर्तामोड, दमक हुँदै चलचित्र टिम काठमाडौं फर्किएको छ। काठमाडौंमा पनि लगनखेल, नयाँ बसपार्क लगायतका क्षेत्रमा मंगलबार साङ्गितिक कार्यक्रम हुने चलचित्र टिमले जनाएको छ।
टुरमा कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झासहित अन्य गायक गायिका पनि सहभागी थिए। टुरका क्रममा दर्शक तथा सञ्चारकर्मीसँग भेटघाटका साथमा साङ्गितिक कार्यक्रम पनि गरिएको थियो।
टुरका दौरान दर्शकहरुसँग नजिक रहेर चलचित्रका बारेमा जान्न पाएकाले पनि खुशी लागेको टुरमा सहभागी कलाकारले बताएका छन्। वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन्। चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।
‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन्। चलचित्र ‘मिस्टर भर्जिन’ भदौं १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।