बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको विवाह आगामी २० नोभेम्बरमा हुने भएको छ । उनीहरुको इन्गेजमेन्ट श्रीलंकामा भएको थियो ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनीहरुको विवाह इटलीको लेक कोमोमा हुनेछ । विवाहमा दुवै परिवारका नजिकका साथीभाइ र परिवारमात्र सामेल हुनेछन् । पाहुनाको सूचीमा जम्मा ४ जनामात्र रहेको बताइएको छ ।
भारतमा आएपछि दुवैले आ–आफ्ना गृहनगरमा भोज आयोजना गर्नेछन् । एक भोज मुम्बईमा र अर्को भोज दीपिकाको गृहनगर बेंगलुुरुमा हुुनेछ ।
यसैबीच, अभिनेता कवीर बेदीले आफ्नो ट्वीटर अकाउन्टमार्फत् दीपिका र रणवीरलाई बधाई दिएका छन् । उनले भनेका छन्, ‘निकै सुन्दर जोडी र इटलीको निकै सुन्दर लोकेशन । निकै शानदार कार्यक्रम हुनेछ । रणवीर र दीपिकालाई बधाई, उनीहरुलाई जिन्दगीभर खुशी मिलोस् ।’ यद्यपि विवाहको मितिका बारेमा दीपिका तथा रणवीरले कुनै आधिकारिक घोषणा गरेका छैनन् । अभिनेता वेदीको ट्वीटले उनीहरुको विवाहको मिति र स्थानबारे खुलासा गरेको हो ।