बलिउड अभिनेता आमिर खानको ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा रिलायन्स इन्टरटेनमेन्टले लगानी गर्ने भएको छ । यसका लागि रिलायन्स इन्डस्ट्रीजका प्रमुख मुकेश अम्बानीले १ हजार करोड (१० र्ब) लगानी गर्ने जनाइएको छ ।
आमिरले यो फिल्मको शीर्ष भूमिकाका लागि अभिनेता प्रभासलाई प्रस्ताव गरेका छन् । उनी यो फिल्म बाहुबलीका प्रख्यात निर्देशक एस एस राजामौलीले निर्देशन गरुन् भन्ने चाहन्छन् । यसअघि राजामौलीले महाभारतमा आधारित फिल्म बनाउने इच्छा जाहेर गरेका थिए ।
महाभारतमा दीपिका पादुकोणले द्रौपदीको भूमिका गर्ने चर्चा बलिउडमा छ । आमिर आफैंले भने कृष्णको भूमिका गर्न सक्नेछन् । उनले ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङपछि महाभारतको काम सुरु गर्नेछन् ।
आमिरको महाभारत ३ फिल्मको श्रृंखला हुनेछ भने यसलाई पूरा गर्न कम्तीमा पनि १५ वर्षको समय लाग्ने अनुमान गरिएको छ । यसलाई हलिउड फिल्म लर्ड अफ दि रिङग्स र गेम अफ थ्रोन्सजस्तै गरी बनाइनेछ ।
यसका लागि आमिर खानले शकुन बत्राको निर्देशनमा ओशोको जीवनीमाथि फिल्म निर्माण होल्ड गरेका छन् । उक्त फिल्मको स्क्रीप्टमाथि दोस्रोपटक काम भइरहेको जनाइएको छ ।