पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको ‘आत्मकथा’ सार्वजनिक भएको छ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले पूर्व प्रहरी महानिरीक्षक खरेलको आत्मकथा शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन्। पुस्तक सार्वजनिक गर्दै खरेलले आफूले प्रहरी महानिरीक्षकको रुपमा भोगेका तितामिठा अनुभवलाई पुस्तकमार्फत सार्वजनिक गरेको बताए।
उनले प्रहरी प्रशासनलाई प्रहरी महानिरीक्षकको कमाण्डमा सञ्चालन नगर्दाको परिणाम मुलुकले भोगीरहनु परेको पनि स्पष्ट पारे। मुलुकमा हत्या, बलात्कार, हिंसालगायतका घटना बढ्दै गइरहेका बेला पूर्व प्रहरी महानिरीक्षक खरेलले प्रहरीको कमाण्ड प्रहरी महानिरीक्षकलाई नदिँदा यस्ता परिणाम आएको प्रतिक्रिया दिए।
कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामबरण यादवले खरेलको सो पुस्तक वर्तमान र भावी पुस्तालाई उपयोगी हुने विश्वास व्यक्त गरे। उनले सरकारले पनि खरेलको सो पुस्तकबाट धेरै कुरा सिक्न सक्ने स्पष्ट पारे।
खरेलको पुस्तकमा द्वन्द्वकालमा प्रहरीले ज्यान गुमाएको घटनाले आफूलाई सबैभन्दा बढी भावुक बनाएको पनि उल्लेख गरिएको छ।