अाेहाे! शुभकामनाकाे त अाेइराे नै लागेछ। कहाँ राखूँ? भकारीमा पनि नअटाउने यी शुभकामना पढ्दा यस्ताे लाग्छ मानाैँ मेरा सम्पूर्ण दु:ख दर्द फुमन्तर भइजान्छन्। म धनधान्यले परिपूर्ण हुन्छु। मेराे उन्नति र प्रगतिमा कति धेरै मित्रकाे चासाे भएकाे हाे। मेराे सुखशान्तिमा उहाँहरूकाे कत्राे प्रसन्नता!
सायद यी सबै कामना र सदाशय साँच्चिकै साकार हुन्थे भने याे संसारकाे दीर्घजीवी मै हुन्थेँ कि? बिल गेट्स र वारेन बफेट पनि मेरा अगाडि भिखारी बन्थे कि? तर, दुर्भाग्य यी शुभकामना यथार्थमा अनुवाद हुँदैनन्। कहिलेकाहीँ मलाई यस्ताे लाग्छ-हामी यति धेरै शुभकामना किन दिन्छाैँ? कदाचित साकार हुन्थे भने हामीले बिल्कुल दिने थिएनाैँ।
अब यस्ताे कुरा गर्दा मलाई कृतघ्नकाे अाराेप लाग्न सक्छ। माेरा अाफूले दिँदैन, अरुले व्यक्त गरेकाेमा पनि खिसिट्युरी गर्छ। कुकुरलाई घिउ नपचेकाे पनि भन्नुहाेला भन्ने लाग्छ। यदाकदा हामी के गर्छाैँ स्वयंलाई पत्ताे हुँदैन। समाजका झारा टाराइ, अनुकरण र अाैपचारिकतामा हामी बहकिन्छाैँ। थाहा छ-याे शुभकामनाले कसैकाे जीवनमा हरियाली ल्याउँदैन। शिष्टाचारका यी शब्दावलीकाे तागत अत्यन्त कमजाेर छ तैपनि हामी एउटा कर्मकाण्डकाे चक्र हामी पूरा गरिरहन्छाैँ।
म अल्लि बाँङ्गाे चरित्रको जीव हुँ। अाधा शताब्दीकाे भाेगाइमा मैले मान्छेका भित्री र बाहिरी स्वरूपकाे राम्रै पर्यवेक्षण गरेकाे छु। यहाँ मैलै अाफ्नै ठानेर मुटुमा सजाएकाले नै मेराे मुटु छेडेका छन्। बाह्य रूपमा मुसुक्क मुस्कुराउने चेहरा नेपथ्यमा भयानक शुम्भ-निशुम्भ बनेकाे पनि मसँग अनुभव छ। मैले सबैभन्दा धेरै ठक्कर खाएकाे नै यस्तै शुभकामना दिनेहरूसित हाे। तब मेराे भराेसा धुजाधुजा नहाेस् कसरी? त्यसैले म शुभकामनामा कम विश्वास र व्यवहारमा अल्लि सकारात्मक देखिन्छु। त्यसै पनि अाजकाे युग वाणिज्यिक छ। यहाँ देनभन्दा ज्यादा लेन हुन्छ।
सित्तैमा कसले कसलाई के दिएकाे छ र? छलछाम र अरुलाई रित्ताे नबनाएर काेही भरिपूर्ण भएकाे मैले देखेकाे छैन। मुखले बाेल्नु वा शब्दमा गुलियाे भर्नु एउटा कुरा हाे, जिन्दगी भिरबाट पछारिन थालेकाे बखतमा काँध थाप्नु अर्काे कुरा हाे। अाजसम्म मलाई कसैले अाेकेरा लगाएकाे तथ्याङ्क छैन। लगाएकाे भए पनि मैले व्याजसहित तिरेकै छु। एउटा दूरीमा रहेर प्रदान गरिएकाे अात्मियता अाफैमा विश्वसनीय हुन सक्दैन। यसाे भन्दै गर्दा म स्वयंले अाफ्नाे दर्पण पनि हेरिरहेकाे छु। मैले पनि कसैमाथि त्याे उदात्तता र गणनायाेग्य उपकार गरेकाे छैन। म गर्न पनि सक्दिनँ।
अाफ्नै गाेरेटाेलाई मजबुत बनाउन नसक्नेले अरुलाई के गर्न सक्छ। फेरि मभित्र जे-जस्ताे चिन्तन र दर्शनकाे महल निर्माण भएकाे छ, त्याे यही समाजकाे हुबहु प्रतिविम्बन हाे। तर, मेराे भिन्नता के हाे भने म बुक्ला गाला बजाउन्नँ, म मिथ्याचारका यस्ता क्रिडाबाट मुक्त हुन रुचाउँछु। किनकि म अाजकाे युगकाे प्रामाणिक मान्छे हुँ। लाेकाचारले मलाई छुँदैन, म लाेकाचार पुर्याउन सक्दिनँ। यसले कसैकाे मन नखल्बलियाेस्। शुभकामना दिनेहरू मेरा लागि त्यत्तिकै निकट छन् जत्ति नदिनेहरू। मेराे याे मन्तव्यले मलाई अहंकारीकाे अभियाेग लाग्न सक्छ। याे कथा पढेपछि मात्रै धारणा बनाउनुहाेला।
लियाे टाल्स्टाय एक दिन चर्चमा प्रार्थना गर्न गएका थिए। उनीभन्दा अगाडि अर्काे मान्छे जिससका अगाडि हात जाेडेर अाफ्ना पापकाे स्वीकृति दिँदै थियाे र भन्दै थियाे-हे परमात्मा! मलाई माफ गर, म भ्रष्टाचारी हुँ मैले धेरैलाई ठगेकाे छु। म व्यभिचारी पनि हुँ। मैले झुटकाे अाडमा धेरैलाई सताएकाे छु। म तिम्रा अगाडि सत्य बाेल्दै छु। मलाई माफ गर।
पछाडि उभिएका टाल्स्टायले सबै कुरा सुनिरहेका थिए। माफी माग्ने मान्छे समाजकाे भद्र पुरुषमा गनिन्थ्याे। टाल्स्टाय छक्क परे। उनले त्याे व्यक्तितिर फर्केर अचम्म मान्दै भने-अाेहाे! तपाईं यति दुष्ट-भ्रष्ट हुनुहाेला भन्ने मलाई थाहा थिएन। समाजमा तपाईंको प्रतिमा सम्माननीय थियाे। तर, तपाईं त यति गिरेकाे मान्छे हुनुहुँदाे पाे रहेछ नि! यति के भनेका थिए त्याे मान्छेकाे क्राेधले भृकुटी तन्कियाे। लाल लाल अाँखा पार्दै चुनाैतीकाे भाषा बाेल्याे-खबरदार टाल्स्टाय! याे कुरा तिमीमा मात्रै सीमित हाेस्। यदि कसैले याे कुरा थाहा पायाे भने तिम्राे खैरियत हुने छैन। तिमीलाई थाहा नै छ। मसँग शक्ति र सम्पत्ति दुबै छ। टाल्स्टायले छक्क पर्दै साेधे-हैन, तपाईंले भर्खरै भगवानका अगाडि बाेलेकाे कुरा साँचाे हैन र? तब उसले भन्याे- कुरा साँचाे हाे। तर, याे नबाेल्ने-नसुन्ने-कहिल्यै कारबाही नगर्ने भगवान र मेराबीचकाे अापसी सम्झाैता हाे। अरू मान्छेसँग यसकाे कुनै सराेकार छैन।
हेर्नुहाेस् मान्छेकाे भक्ति र प्रार्थना। के हामीले अादानप्रदान गर्ने शुभकामनाकाे मूल्य र सार्थकता याेभन्दा बढी गाैरवपूर्ण छ? हाम्राे भित्री रहस्य यही हाेइन? किनकि संसारकै मान्छेकाे प्रवृत्ति त एउटै हाे। माफ गर्नुहाेला, म शुभकामना दिन्नँ है! सकेछु भने रगत-पसिना नै दिउँला। बी पोजेटिभ हाे रक्त समूह र पसिनाकाे कुनै वर्ग समूह हुँदैन।