वरिष्ठ आख्यानकार तथा साहित्यकार रमेश विकलको ११औँ स्मृति दिवसका अवसरमा उनको नाममा स्थापित प्रतिष्ठान र सङ्ग्रहालय भवनकाे शनिवार उद्घाटन गरिएकाे छ ।
प्रतिष्ठानको नवनिर्मित भवनको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आख्यानकार विकल राष्ट्रकै निधि रहेकाे बताए । साथै मन्त्री अधिकारीले साहित्यकारले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका महत्वपूर्ण रहेकाे चर्चा गर्दै समाजको सकारात्मक परिवर्तनका लागि गरिएको योगदानको सरकारले कदर गर्ने बताए ।
सांसद कृष्ण राईले विकल जनताको साहित्यकार बन्न सफल भएकाे स्मरण गरे । पूर्वमन्त्री अम्बिका बस्नेतले साहित्यिक प्रतिभाको खोजीमा सरकार सक्रिय हुनुपर्ने विचार राखिन् ।
प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले विकलले साहित्यिक क्षेत्रमा पुर्याएकाे योगदानको चर्चा गरे । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकासप्रेमी साहित्यकार विकल उपत्यकाको पूर्वोत्तर भेगको मात्र नभई देशकै नक्षेत्र भएकाे बताए।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, महासचिव एवं विकलका ज्येष्ठ सुपुत्र वरिष्ठ पत्रकार विजय चालिसेलगायतका व्यक्तित्वले उनले नेपाली साहित्यमा पुर्याएकाे योगदानको चर्चा गरे ।
सो अवसरमा विसं २०७४ को ‘रमेश विकल वाङ्मय पुरस्कार’ कथाकार डा राजेन्द्र विमललाई प्रदान गरियो । कथाकार विमल लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहँदै अाएका छन् ।
यसैगरी हालसम्म सबैभन्दा धेरैपटक रक्तदान गर्ने समाजसेवी प्रेमसागर कर्मचार्यलाई ‘रमेश विकल–सुशीला समाज सेवा पुरस्कार’ प्रदान गरियो । वरिष्ठ साहित्यकार पुरुषोत्तम सुवेदीलाई ‘रमेश विकल सृजना पुरस्कार’ तथा बाल साहित्यकार सुशीला प्रधानाङ्गलाई ‘रमेश विकल बालसाहित्य पुरस्कार’ दिइएको थियो ।
सङ्घर्षशील नारी व्यक्तित्व लक्ष्मी शर्मालाई ‘रमेश विकल–सुशीला सङ्घर्षशील नारी सम्मान–पुरस्कार’ तथा वरिष्ठ तबला वादक शास्त्रीय सङ्गीतकार अच्युतराम भण्डारीलाई ‘रमेश विकल सङ्गीत पुरस्कार’ प्रदान गरिएको थियो ।
प्रतिष्ठान कार्यसमितिका सदस्य मातृका पोखरेलको संयोजकत्वमा साहित्यकारद्वय प्रह्लाद पोखे्रल र सीता भट्टराई सदस्य रहनुभएको सिफारिश समितिको सिफारिशका आधारमा पुरस्कार प्रदान गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।
प्रतिष्ठान भवन राजधानीको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित विकलको पुख्र्यौली थलोमा निर्माण भएको हो । भवन निर्माणसहित आन्तरिक साज सज्जाको काममा एक करोड ४८ लाख ५० हजार खर्च भएको प्रतिष्ठानले जनाएको छ । भवन निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुर्ई आर्थिक वर्षमा गरी रु ७० लाख सहयोग प्राप्त भएको थियो ।
राष्ट्रिय योजना आयोगबाट रु पाँच लाख, काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु ४० लाख सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।
गोकर्णेश्वर नगरपालिकाबाट रु १८ लाख, दाता प्रभात लामा र गोपाल दङ्गालबाट एकमुष्ट रु १५ लाख तथा प्रतिष्ठानका महासचिव चालिसेबाट पनि ५० हजार प्राप्त भएको थियो ।
कथा र उपन्यासमार्फत् नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान दिनुभएका विकलको चित्रकला र सङ्गीतमा पनि विशेष रुचि थियो । ‘अविरल बग्दछ इन्द्रावती’, ‘नयाँ सडकको गीत’, ‘आज फेरि तन्ना फेरिन्छ’ जस्ता कालजयी रचनाका स्रष्टा विकल लेखनसँगै सम्पादनमा पनि सक्रिय थिए ।
भवन निर्माणमा विशेष सहयोग गरेको भन्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख चालिसे र प्रमुख सल्लाहकार दीपक रिसाललाई सो अवसरमा सम्मान गरिएको थियो । रासस