पछिल्लो समय चलेकी नायिका वर्षा राउत एक पछि अर्को गर्दै विभिन्न फिल्ममा अनुबन्धित भइरहेकी छिन्। उनको अभिनय रहेका प्रायः चलचित्रले सफलता हात पारेसँगै उनी निकै व्यस्त बनेकी छिन्।
केही दिनअघि नयाँ चलचित्र गोपीमा अनुबन्धित भएकी वर्षाले अहिले नयाँ चलचित्र ‘बकम्फुसे राजा’मा रोल निभाउन राजी भएकी हुन्। सञ्चारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको चलचित्र सुवेदी फिल्मसको ब्यानरमा बन्ने भएको हो । कमेडी जनराको यस फिल्ममा गणेश सुवेदीको लगानी रहनेछ।
फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत भर्ने जिम्मेवारी पाएका छन् भने विष्णु कल्पित छायाँकारमा अनुबन्ध भएका छन्। सुनिल श्रेष्ठको स्क्रिप्ट रहेको फिल्मका प्रमुख कलाकारको भने घोषणा गरिएको छैन। ‘बकम्फुसे राजा’ मा अभिनेत्री वर्षा राउत लिड रोलमा हुनेछिन्।
फिल्मको औपचारिक घोषणामा भने उनी उपस्थिति भएकी थिइनन्। निर्देशक बन्न लागेका सुवेदीले केही दिनमा थप कलाकारको विषयमा जानकारी दिने बताए। ‘हर्के हवाल्दार’ र ‘रिसानी माफ पाउँ’ जस्ता हाँस्य टेलिसिरियल निर्देशन गरिसकेका उनले सञ्चालन गर्ने फिल्मसम्बन्धी कार्यक्रम ‘रजतपट’ एक समय निकै हिट थियो।