चीनमा आगामी ३१ अगष्टदेखि चिनिया सब टाइटल्ससहित रिलिज हुन लागेको बलिउड फिल्म ‘सुुल्तान’ ११ हजार फिल्म हलमा प्रदर्शन हुने भएको छ। यो फिल्म चीनमा हरेक दिन ४० हजार शो हुनेछ।
यो फिल्म २ वर्षअघि भारतमा रिलिज हुँदा ४ हजार हलमा प्रदर्शन भएको थियो। निर्देशक अली अब्बास जफरले फिल्म चीनमा रिलिज हुन लागेकाले आफू निकै उत्साहित भएको बताए। ‘जब फिल्म नयाँ स्थानमा रिलिज हुन्छ, त्यसले नयाँ दृष्टिकोण मिल्छ,’ उनले भने।
चीन भारतीय फिल्मका लागि उदाउँदो बजार हो। सुल्तानमा सलमान खान र अनुुश्का शर्माको मुख्य भूमिका छ। केही वर्षयता भारतीय फिल्म चीनमा रिलिज हुन थालेका छन्। तिनले चीनमा गर्ने कमाई भारतमा गर्नेभन्दा बढी हुन्छन्। यसअघि आमिर खानको ‘सेक्रेट सुपरस्टार’ ले चीनमा साढे ७ अर्ब रुपैयाँ कमाई गरेको थियो।