नेपाली चलचित्रका निर्माताहरुले आफ्नो लगानीको कुनै प्रवाह नगरी चलचित्र चलाउन एकै मिति जुधाउने घटना नेपाली चलचित्र क्षेत्रका लागि नौलो होइन।
एकै दिन ४–५ वटा चलचित्र प्रदर्शनमा आएको इतिहास पनि छ। पछिल्लो समय पनि चलचित्रले सोलो रिलिज नपाएको अवस्था छ। यही बीचमा आगामी भदौ २२ गते पनि बीग बजेटका दुई चलचित्र प्रदर्शनमा आउने पक्का भएका छन्। यो मितिमा चलचित्र रामकहानी र चलचित्र रोजी प्रदर्शनमा आउने पक्का भएको छ।
चलचित्र प्रदर्शनको मिति आउन एक महिना पनि छैन। चलचित्रका निर्माताहरुले आफ्ना चलचित्रको प्रचार प्रसारलाई तीव्र बनाएका छन्।रामकहानी टोलीले पनि चलचित्रको प्रचारप्रसारलाई आक्रामक बनाएको छ। केही दिनअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले पनि दर्शकको राम्रै साथ पाएको छ।
चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, वील्सन विक्रम राई लगायतको अभिनय छ। प्रेमकथामा आधारित सफल फिल्मका लागि परिचित सुदर्शन थापा फिल्मका निर्देशक हुन्। गत वर्ष उनले बनाएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले वक्सअफिसमा राम्रै कारोबार गरेको थियो।
यस्तै चलचित्र ‘रोजी’ युनिटले अफिसियल गीत सार्वजनिक भएको छ। ‘फूल हैन...’ बोलको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ। टर्कीका पर्यटकीय थलो इस्तानबुल, साल्टलेक र कोनियामा दृश्यांकन गरिएको गीतको भिडियोमा प्रदीपको गेटअप फरक देख्न सकिन्छ । ‘प्रेमगीत’ का सिरिज र ‘लिलिबिली’ को सफलतापछि प्रदीपको क्रेज निकै बढेको छ। महंगो पारिश्रमिक लिएर ‘रोजी’ मा अनुबन्ध भएका प्रदीपले यसमा क्रिमिनलको भूमिका निर्वाहा गरेका छन्।
गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्ममा कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोललगायतका कलाकारहरुको अभिनय छ। आयरा पौडेल र आरोही केसीको निर्माण रहेको ‘रोजी’ लाई राजु विक्रम थापाले खिचेका हुन्। चलचित्रका निर्देशक निरक पौडेल हुन्।
छायांकन सकिएको छोटो समयमा नै प्रदर्शन मिति तय गरेर दर्शक भेट्न लागेको यस फिल्मको ‘रामकहानी’सँगको भिडन्तले निर्माण पक्षसामू ठूलो चुनौती खडा गरेको छ।