अभिनेत्री नम्रता श्रेष्ठ तथा अभिनेताद्वय विपिन कार्की र निश्चल बस्नेत अभिनित चलचित्र ‘प्रसाद’ टोलीले चलचित्रको प्रदर्शन मिति तोकेको छ। काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा चलचित्रको प्रदर्शन मिति मंसिर २१ गतेका लागि तोकिएको हो।
‘प्रसाद’ को निर्देशन दिनेश राउतले गरेका छन्। ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ लगायतका फिल्म निर्देशन गरिसकेका दिनेशले ‘प्रसाद’ लाई राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए। अभिनेता निश्चलले आफूले अभिनय गरेका अन्य फिल्मभन्दा ‘प्रसाद’ मा फरक भूमिका रहेको बताए। उनले ‘प्रसाद’मा दर्शकले आफ्नो अभिनयमा म्याचुरिटी देख्न पाउने पनि बताए।
अभिनेत्री नम्रताले यस फिल्ममा आफूले फरक भूमिका निर्वाह गरेको बताइन्। यो फिल्ममा उनी गृहणी महिलाको भूमिकामा छिन्। फिल्म ‘जाइरा’ का लागि कपाल मुडुलो बनाएकी उनले ‘प्रसाद’ मा नक्कली कपाल लगाएकी छन्।
निसन्तानका कारण पति–पत्नीबीच आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक कुरीतिविरुद्धको कथामा चलचित्र केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ। फिल्मको स्क्रिप्ट पत्रकार सुशील पौडेलले लेखेका हुन्।