बाहिरबाट आएको आवाज मेरा लागि परिचित थियो। बोलेको नबुझिए पनि कोही बोलिरहेको थियो। हात र अनुहारको इशारासंग मिसिएर निस्किएका यी आवाज मेरा लागि परिचित थिए। केटाकेटीदेखि नै म अभ्यस्त थिएँ यी आवाजका भाव बुझ्न। म घर आएको थाहा पाएर लाटी भेट्न आएकी रहिछ। लाटी नै भन्छन् सबै उसलाई। बोल्न सक्दिन तर, भए जति इशाराले नै बोल्छे।
टोलमा को केटाकेटीको माया बस्या छ, कसको लोग्ने स्वास्नीको सम्बन्ध बिग्रिएको छ। उसलाई जे-जे लाग्छ त्यहीँ। सबैले उसको इशारा बुझ्ने भए कतिका रिस पोखिन्थ्ये होला ऊमाथि। कहिले त लाग्छ त्यसैले होला प्रकृतिले उसलाई लाटी बनाएको। उसका कुरा सुनेर त म कहिलेकाँही आत्तिन्थें। नगर यस्ता कुरा भन्थें। यतिका वर्षपछि पनि लाटीको स्वभाव उस्तै छ। शरीर भने निकै दुब्लाएको छ। अनुहारमा केही मुजा परेका छन्। आँखाको तलको खाल्डो अलि गहिरिएको जस्तो लाग्यो।
तर, आँखामा आशाहरु भने अझै बाँकी थिए। तिनको चमक पनि देख्न सकिन्थ्यो। त्यत्तिकै, पहिले जस्तै। उसको लोग्ने एकदिन विदेश जान्छ अनि धेरै पैसा कमाएर फर्किन्छ। अनि ऊ घ्यु हालेर चामल भुट्छे र मगमग बास्ना आउने पुलाउ पकाउँछे। नाकनिर हात लगेर ऊ लामो सास तानेर मलाई घ्यु भनेको भनेर बुझाउँछे। मलाई थाहा छ उसले गरेको यो इशारा घ्यु नै हो भनेर। अरु थुप्रै खानेकुरा पकाउने इशारा गर्छे। छिमेकका धेरै मानिससंगै मलाई पनि बोलाएर खुवाउने उसको धोको बुझाउझे। अनि ऊ आफूले लगाएको कुर्ताको टुप्पो समाएर दलेजस्तो गर्छे र आँखी भौं उचालेर आँखा चम्काउँछे। उसले भन्न खोजेको नयाँ लुगा हो। पुलाउ खाने अनि नयाँ लुगा लाउने लाटीका सपना अझै पूरा भएका छैनन्, बाँकी नै छन्।
लाटीलाई म सम्झिन्छु करिब २०–२१ वर्ष अगाडि निकै आकर्षक देखिन्थी। मिलेको शरीर, बाक्लो कपाल। धेरै ठाउँमा टालिएका लुगाले उसको रुपमा कुनै व्यवधान हाल्दैनथे। उसको बिहे कलिलै उमेरमा भएको थियो। लाटी भए पनि हजुरआमाबाट भएजति शीप सिकेकी थिइ। लुगा सिउनेदेखि घर व्यवहारका हरेक काममा निपूर्ण थिइ ऊ।
बिहेपछि वर्षेनी सुत्केरी हुँदै उसले १३ सन्तान जन्माएकी थिइ। कुपोषणले २ छोरीको मृत्यु भएको पनि सुनेको थिएँ। अहिले कतिजना छन् मलाई थाहा पनि छैन। लोग्नेको बिग्रदो स्वास्थ्य र परिवारको दायित्वले लाटीलाई छोप्दै लगेको थियो। ऊ टोलमा धेरैको घरधन्दा सघाउन जान्थी। त्यसबाट आएको पैसाले घर व्यबहार धानिएको थियो। कहिलेकाहीं म उसलाई साडीमा फाल्स हाल्दै गरेको पनि देख्थें।
लाटीले हावभाव बनाएर आँखा चम्काएर गर्ने कुराहरु मलाई मन पर्थे। क्याम्पसबाट फर्किंदा कहिलेकाहीं बाटोमा भेटेर म उसलाई घर जाउँ भन्थें। आफ्नो खाजा उसलाई पनि बाँड्ने गर्थें। कहिलेकाहीं आफ्नो लोग्नेसंगको माया प्रेमका प्रसङ्ग पनि सुनाउँथी। इशाराले गर्ने उसका प्रेम प्रसङ्गका कुराहरु अलि अनौठा पनि लाग्थ्ये। म झन कोट्टाएर सोध्थें। ऊ केही लजाउँथी। मलाई सम्झना आउँछ खाना के पकाएको भनेर सोध्दा ऊ दुईवटा हत्केला जोडेर माथि तल घुमाएर रोटी पकाएको सान गर्थी। अनि अब केही दिनमा लोग्नेले बाहिर गएर धेरै पैसा ल्याएपछि पुलाउ पकाएर खाने उसको रहर त्यतिबेला देखिकै हो।
समयसंगै लाटीका छोराछोरी हुर्केछन्। काममा लागेका रहेछन्। बिहेबारी पनि भइसकेछ। सबै आ–आफ्नो घरव्यवहारमा व्यस्त रहेछन्। लाटी अझै अरुका घरमा काम सघाउन जाँदी रहिछ। मैले सोधें-अब त आराम गर्ने बेला भयो किन यति काम गरेको। उसले दाँया हत्केला निधारमा लगेर जोडी। निधारबाट हत्केला तल झरेनन्। आँखा अलि रसाएका थिए उसका। उसको इशाराको अर्थ थियो 'मेरो कर्मै यस्तो।' उसले सुनाइ- छोराछोरी आफ्नै घरव्यहारमा व्यस्त छन्। लोग्ने बिरामी छ। सञ्चाे भएपछि विदेश जान्छ अनि।