मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित जनचेतना साना किसान कृषि सहकारी संस्थाले अघिल्लो आर्थिक वर्षमा १ करोड ३७ लाख रुपैयाँको मह बिक्री गरेको छ।
राक्सिराङ गाउँपालिका–६, सिलिङ्गेस्थित सो सहकारीले त्यस क्षेत्रका चेपाङ,तामाङ समुदायले उत्पादन गरेको मह संकलन गरी बिक्री गरेको हो। सहकारीका अध्यक्ष दिनेश चेपाङका अनुसार आर्थिक वर्ष २०७४-७५ मा ५५ टन मह संकलन गरिएको थियो। सहकारीको लोथर बजारस्थित संकलन केन्द्रबाट संकलित मह काठमाडौं लगायतका सहरमा निकासी गरिएको थियो।
काठमाडौँमा हिमालय हनी सप्लायर्स प्रालि, नेपाल कृषि सहकारी केन्द्रीय संघ र जिल्ला कृषि सहकारी संघमा यही सहकारीले मह उपलब्ध गराउँदै आएको अध्यक्ष चेपाङले बताए। सहकारीले मौलिक तथा आधुनिक घारमा पालेका मौरीबाट उत्पादित मह किसानाट प्रतिकेजी २५० रुपैयाँमा किन्ने गरेको छ। खरिद गरिएको मह सहकारीमै प्रशोधन प्रविधि उपयोग गरी प्रशोधन तथा प्याकिङ गरिन्छ।
अहिले ‘चिउरी हनी न्याचुरल’ ब्राण्डको मह बजारमा गइरहेको छ। यस क्षेत्रका लाखौँ बोट चिउरी फुल्दा किसानका हजारौँ मौरीघारलाई चराउन अन्यत्र लैजानु पर्दैन। चिउरीको महलाई प्रशोधन र ब्राण्डिङ गरी अझ व्यवस्थित गर्नका लागि सीसीडिएन, एमडीआई नेपाल लगायत गैरसरकारी संस्थासंग समन्वय भइरहेको अध्यक्ष चेपाङले जानकारी दिए। उनका अनुसार राक्सिराङ गाउँपालिकाको सिलिङ्गे, सिलाधुनी, धुसाराङ, पाङ्थली, टोड्केका, खरखण्डे लगायत गाउँहरु र चितवनको राप्ती नगरपालिकाका विभिन्न वडामा व्यवसायिक रुपमा मौरीपालन गरिएको छ।
बाहिरका मौरीघार निषेध
यसैबीच, गत आर्थिक वर्षदेखि राक्सिराङ गाउँपालिका–६ स्थित सिलिङ्गे सामुदायिक वन क्षेत्रमा स्थानीय किसानका मात्र मौरी चराउने व्यवस्था मिलाइएको छ। यसअघि चितवन, हेटौँडा, मनहरी लगायत स्थानबाट मौरीपालक किसानले सिलिंगे सामुदायिक वनमा मौरी चराउन लैजाने गर्थे।
तर, गत वर्षदेखि सामुदायिक वनले स्थानीयलाई मात्र मौरी चराउन दिने निर्णय गरेपछि बाहिरबाट जाने मौरीपालक किसानको भीड घटेको छ। यसबाट वार्षिक २ लाख रुपैयाँ आम्दानी पनि गुमेको सिलिङ्गे सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्षसमेत रहेका राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सिंगलाल प्रजाले बताए।