माग अनुसार सुन नपाएपछि पोखराका सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आज र भोलि कास्कीका सुनचाँदी पसल बन्द गर्ने जनाएका छन्।
सुनचाँदी व्यवसाय सम्बन्धी निर्देशिकाको अभाव, सुनको अभाव र सुनको असमान वितरणकाविरुद्ध व्यवसायी आन्दोलित भएका हुन्।
सुनचाँदी व्यवसायी संघ कास्की र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको संयुक्त बैठकले भदौ १० र ११ गते कास्कीमा सुनचाँदी व्यवसाय बन्द गर्ने निर्णय गरेको हो।
सुनचाँदी व्यवसायी संघ कास्कीका कार्यवाहक अध्यक्ष भविन्द्र विश्वकर्मा र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीका अध्यक्ष किसान सुनारले संयुक्त विज्ञप्ति जारी गरी चाडपर्वको समयमा सुन अभावका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउनु दुखद भएको बताएका छन्।
कोटा प्रणाली अन्तर्गत नेपाल राष्ट्र बैंकद्वारा उपलब्ध गराइने सुन १ केजी मात्र रहेको हुँदा व्यवसायीहरुलाई असहज भएको भन्दै ५० ग्राम, १ सय ग्राम र ५ ग्रामको समेत सहजै सुन उपलब्ध गराउन माग गरिएको छ।
नेपालमा राष्ट्रबैंकले दैनिक २० किलो सुन व्यवसायीलाई उपलब्ध गराउँछ । उपलब्ध सुन मध्ये काठमाडौंका ३ जिल्लालाई ६० प्रतिशत र बाहिर ७४ जिल्लालाई जम्मा ४० प्रतिशत सुन वितरण हुँदै आइरहेको छ।
असमान सुन वितरण प्रणालीको पनि अन्त्य हुनुपर्ने व्यवसायीहरुको माग छ। २ दिनसम्म व्यवसाय नै बन्द गरेर आन्दोलन गर्दासमेत माग पूरा नभए थप आन्दोलन गरी अनिश्चितकालीन व्यवसाय बन्द गर्ने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ।