लामो समयदेखि अन्योलमा रहेको पटना–जनकपुरधाम र बोधगया–काठमाडौं बस सेवा सञ्चालन हुने भएको छ। प्रदेश २ को अस्थायी राजधानी जनकपुर र भारत बिहार राज्यको राजधानी पटना जोड्ने पटना–जनकपुरधाम र बोधगया–काठमाडौं बस सेवा सञ्चालनमा आउन लागेको हो।
भदौ ३१ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हरियो झण्डा देखाएपछि औपचारिकरुपमा पटना–जनकपुरधाम बस सेवा सञ्चालन हुने जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।
यस्तै, २८ भदौमा विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाएर जनकपुरका लागि बसलाई बिदाइ गर्नेछन्। जनकपुरबाट छुट्ने बस सीतामढी, मुजफ्फरपुर हुँदै पटना जाने रुट निर्धारण गरिएको छ। त्यस्तै काठमाडौंबाट छुट्ने वीरगञ्ज, रक्सौल, मुजफ्फरपुर, पटना हुँदै बोधगया पुग्ने बताइएको छ।
जनकपुरबाट करिब २ सय ७ किलोमिटर दुरी रहेको पटनासम्म बस सञ्चालन गर्न नेपालतर्फबाट काठमाडांैस्थित स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि. र भारततर्फबाट विहार सरकारको विहार पारवहनले जिम्मा पाएको छ। जनकपुरबाट बिहान ७ र ९ बजे तथा राति ८ बजे र पटनाबाट अपरान्ह ३ बजे, बिहान ४ बजे तथा राति ९ बजे समय प्रस्ताव गरिएको छ। यसैगरी काठमाडाैं र विहारको बोधगयासम्म पनि बस सेवा सञ्चालन हुन गइरहेको बताइएको छ। काठमाडाैंबाट छुट्ने बस वीरगंज, रक्सौल, मुजफ्फरपुर, पटना हुँदै बोधगयासम्म पुग्ने छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सार्क सम्मेलनमा सहभागी हुन आएको बेला जनकपुर–पटना बस सेवा सञ्चालन गर्ने घोषणा गरेका थिए। र, पछिल्लो पटक बिमस्टेक सम्मेलनमा सहभागी हुन पुनः नेपाल पुगेका उनले उक्त घोषणा कार्यान्वयन गर्न सम्झौता गरेका छन्। दुई मुलुकबीच चारवटा बस सञ्चालन गर्ने सम्झौता भएपनि तत्काल दैनिक १-१ वटा बस सञ्चालन हुने अध्यक्ष चौधरीले बताए।