व्यावसायिक रूपमा हुँदै आएको कपासखेती पछिल्लो समय उजाड अवस्थामा पुगेको छ। कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै कपासखेती उजाडजस्तै अवस्थामा रहेको हो।
कपास विकास समिति खजुराले प्रशोधन गरी बिक्रीका लागि तयार पारेको २१३ मेट्रिकटन कपास अहिले पनि गोदाममै थन्किएको छ। प्रशोधन गरिएको उक्त कपास उचित बजार अभावका कारण यसरी गोदाममै थन्किन पुगेको कपास विकास समिति खजुराका निमित्त प्रमुख विजयकुमार जोशीले बताए।
विगत चार वर्षदेखि कपास बिक्री नभएपछि समितिको गोदाममा अहिले पाँच करोड मूल्यको कपास थन्किएको जानकारी दिए। एक मेट्रिकटन बराबर दुई लाख १८ हजार मूल्य रहेको रेशा कपास गोदाममै थन्किँदा अहिले समितिलाई करीब पाँच करोडको घाटा भएको छ।
कपास समितिले उत्पादन गरेको कपास हेटौँडा कपडा उद्योग तथा बुटवल धागो उद्योगले खरिद गर्दै आएका थिए। ती दुवै उद्योग बन्द भएपछि समितिले उत्पादन गर्ने कपासको बिक्रीमा समस्या देखिएको छ। लामो समयदेखि गोदममै कपास थन्किएका कारण उक्त कपास पनि गुणस्तरहीन हुँदै गइरहेको छ।
भारतीय कपासले नेपाली बजार ओगटेका कारण पनि स्थानीय तहमा उत्पादन भएको कपास समयमै बिक्री हुन नसकेको हो। सरकारले कपासखेतीलाई प्रोत्साहन गर्न समितिमार्फत किसानलाई कपासको बिउ, बिषादी तथा रासायनिक मलमा ५० प्रतिशत अनुदान दिनुका साथै प्राविधिक सेवा समेत दिँदै आए पनि पछिल्लो समय कपास उत्पादन घट्दो क्रममा रहेको छ।
कपास विकास समितिका अनुसार तीन वर्षदेखि बिक्री हुन नसकेको १५० टन कपासको बिउ भने केही दिनअघि मात्रै बिक्री भएको छ। प्रतिटन २० हजारका दरमा बिक्री भएको उक्त बिउबाट समितिले ३० लाख जम्मा गरेको छ।
समितिमा प्रशोधन भएको कपास बिक्री नभएकै कारण समिति अहिले धरासायी अवस्थामा रहेको छ। समिति स्थापनाका समयमा बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा कपास उत्पादन गर्ने र बाँकेको खजुरामा प्रशोधन गर्ने लक्ष्य रहे पनि पछिल्लो समय लक्ष्यअनुसार काम हुन नसकेको निमित्त प्रमुख जोशीले बताए।
समितिले गत आवमा २२ मेट्रिकटन र चालु आवको साउनयताका दुई महिनामा २० क्विन्टल मात्रै फुटकर कपास बिक्री गरेको छ। अहिले ८० मेट्रिकटन कपास उत्पादन र प्रशोधन गर्ने समितिको लक्ष्य रहे पनि यो लक्ष्य गत वर्षको तुलनामा १० टनले कम हो।