प्रत्येक वर्षझैँ दसैँको अवसर पारेर जनकपुरमा लाग्ने दसैँ बजार (सस्तो बजार) यसपालि पनि लाग्ने भएको छ। जनकपुर उद्योग वाणिज्य संघको पहलमा विगत ४२ वर्षदेखि दसैँमा लाग्ने गरेको सस्तो बजार असोज २४ गतेदेखि शुरु हुन लागेको हो।
दैनिक उपभोग्य सामग्री बजार मूल्यभन्दा सस्तोमा उपलब्ध हुने गरेकाले नगर क्षेत्रका साथै ग्रामिण भेगका उपभोक्ताहरु सरसामान खरिद गर्न सस्तो बजार पुग्ने गर्दछन्। स्थानीय गोपाल धर्मशालामा लाग्ने सस्तो बजारमा अन्य वर्षहरुको तुलनामा यसपटक बढी स्टल राखिने जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजयप्रसाद साहले जानकारी दिए।
बजार व्यवस्थापन गर्न धर्मशालाभित्र ५० देखि ६०, बाहिर प्राङ्गणमा ४० देखि ५०, बरन्डामा १० वटा स्टल र धर्मशाला परिसर बाहिर बढी स्टल राख्ने तयारी छ। स्टलहरुमा खासगरी स्थानीय उद्योगबाट उत्पादित वस्तु र घरायसी तथा चाडवाडमा प्रयोग हुने वस्तु राखिने वरिष्ठ उपाध्यक्ष साहले बताए। चियापत्ती, साबुन, अगरबत्ती, चाउचाउ, बिस्कुट, खानेतेल, जुत्ता, लत्ता कपडा लगायतका सामग्रीहरु बिक्री हुने बताइएको छ।