चालू आर्थिक वर्षको प्रथम तीन महिनामा नेपाललाई तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ व्यापार घाटा भएको छ। यो घाटा गत आवको यसै अवधिको तुलनामा ४६ प्रतिशत बढी हो। गत आवको यसै अवधि (साउन–असोज)मा दुई खर्ब ३९ अर्ब ७५ करोड व्यापार घाटा भएको थियो।
भन्सार विभागको तथ्यांकअनुसार व्यापार घाटा चुलिँदै जानुमा इन्धन आयात दरवृद्धि प्रमुख कारण हो। यस अवधिमा ५६ अर्ब ६८ करोड रुपैयाँको इन्धनमात्रै आयात भएको छ। यसपछि दोस्रोमा आइरन र स्टिलले पनि व्यापारघाटा चुलिँदै जानुमा भूमिका खेलेको छ। तीन महिनामा आइरन र स्टिल गरी ४० अर्ब तीन करोडको आयात भएको छ। यसपछि सवारीसाधन, मेसिनरी उपकरण तथा सामग्री, विद्युतीय सामग्री तथा उपकरणले व्यापार घाटाको ठूलो हिस्सा ओगटेको छ।
चालु आवको पहिलो तीन महिनामा पौने तीन खर्बको उपभोग्य वस्तु आयात भएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत वर्षको पहिलो तीन महिनाको तुलनामा यस अवधिमा आयातको आकार ४३.५७ प्रतिशतले ठूलो भएको छ। यो वर्षको तीन महिनामा तीन खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ। गत वर्षको तीन महिनामा दुई खर्ब ६० अर्ब २० करोड रुपैयाँको वस्तु आयात भएको थियो।
आयातमा सबैभन्दा ठूलो हिस्सा इन्धनले ओगटेको छ। गत वर्षको तीन महिनाको तुलनामा यो वर्षको तीन महिनामा वैदेशिक व्यापार ४१.५७ प्रतिशतले वृद्धि भएको छ। यसअनुसार पछिल्लो तीन महिनामा तीन खर्ब ९७ अर्ब ३३ करोड रुपैयाँको नेपालले वैदेशिक व्यापार गरेको छ। कुल व्यापारमा आयातको हिस्सा गत आवको यसै अवधिको तुलनामा भने १७.९५ प्रतिशतले घटेको छ। निर्यात भने १६.८ प्रतिशत वृद्धि भएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ।