बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा सवा ३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को असोज मसान्तसम्म कुल ३ अर्ब २६ करोड १ लाख ६२ हजार रुपैयाँ राजस्व आम्दानी गरेको हो। कार्यालयले संकलन गरेको यो राजस्व लक्ष्यको २० प्रतिशत बढी हो। यस अवधिमा भन्सारले २ अर्ब ७१ करोड २६ लाख २५ हजार संकलन गर्ने लक्ष्य राखेको कार्यालयले जनाएको छ।
त्यसमध्य भन्सार राजस्वबाट १ अर्ब ५८ करोड ३५ लाख ७४ हजार, मूल्य अभिवृद्धि करबाट १ अर्ब ४७ करोड २४ लाख ४६ हजार र अन्तःशुल्कबाट करिब १ अर्ब र अन्य १० करोड ४२ लाख ३२ हजार रुपैयाँ राजस्व उठेको हो। भन्सार कार्यालयका भन्सार प्रमुख उमेश श्रेष्ठले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा ६९ प्रतिशत अर्थात् १ अर्ब ३२ करोड ९० लाख ६८ हजार बढी राजस्व आम्दानी भएको बताए।
अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८४ करोड २८ लाख १३ हजार लक्ष्य रहेकोमा १ अर्ब ९३ करोड १० लाख ९४ हजार राजस्व आम्दानी भएको उनको भनाइ छ। चालू आवको तीन महिनामा सबैभन्दा बढी असोजमा १ अर्ब १९ करोड ७ लाख ५९ हजार, भदौमा १ अर्ब १५ करोड ७८ लाख ९ हजार र साउनमा ९१ करोड १५ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयको यस आर्थिक वर्षको कूल राजस्व असुली लक्ष्य १२ अर्ब ३३ करोड १ लाख १६ हजार रुपैयाँ छ। हालसम्म कुल लक्ष्यको २६.४४ प्रतिशत राजस्व असुली भएको बताइएको छ। पश्चिम तराईको प्रमुख नाका भएका कारण कर्णाली प्रदेशका साथै प्रदेश नम्बर ५ र ७ मा सामान आयात हुने यस नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पर्दाथ, मेसिनरी, लत्ताकपडा, खाद्यान्नलगायत करोडौंका सामान आयात हुने गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ।