नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यही कात्तिक २१ गते बुधबार लक्ष्मीपूजाको दिन साँझ ६ बजे गरिएको मापनमा घरायसी ग्राहकले गत वर्षभन्दा कम विद्युत् प्रयोग गरेको जानकारी दिए ।
गत वर्षको लक्ष्मीपूजाको दिनमा एक हजार १६५ मेगावाट विद्युत् घरायसी ग्राहकले प्रयोग गरेका थिए ।यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १०५ मेगावाट विद्युत् प्रयोग गरेका छन् । यस वर्ष गत वर्षभन्दा ६० मेगावाट विद्युत् कम प्रयोग भएको हो ।
नियमित विद्युत् आपूर्ति, प्रणालीमा सुधार तथा अन्य व्यवस्थापकीय रुपमा गरिएको सुधारका कारण माग उल्लेख्य रुपमा खपत नबढेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले यस वर्ष कूल एक हजार २७० मेगावाटसम्म विद्युत् माग हुन सक्ने प्रक्षेपण गरेको थियो । प्राधिकरणले एक हजार ५०० मेगावाटसम्म विद्युत् माग भए पनि आपूर्ति गर्न सकिने गरी व्यवस्थापन गरेको थियो ।
प्राधिकरणले विद्युत् प्रणाली पुगेका कुनै पनि घर तथा बस्ती अँध्यारो नहोस् भन्ने ध्येयका साथ प्रत्येक वितरण केन्द्र र ग्रिड विभागमा २४सै घण्टा खटिने गरी कर्मचारी परिचालन गरेको थियो । प्रत्येक वितरण केन्द्र मातहत २५ जनाका दरले विशेष टोली बनाएर परिचालन गरेको हो ।
कार्यकारी निर्देशक घिसिङका अनुसार प्राधिकरणको ४३९ मेगावाट, निजी क्षेत्रको ३४१ मेगावाट उत्पादन र भारतबाट ३२५ मेगावाट विद्युत् आयात गरिएको र त्यसको सकुशल व्यवस्थापन भएको छ ।
उपभोक्ताले सचेत रुपमा नै कम विद्युत् खपत गर्ने उपकरणको प्रयोग तथा विद्युत् प्रयोगमा मितव्ययिता अपनाएका कारण पनि माग कम भएको हो । प्रत्येक वर्ष १० प्रतिशतका दरले घरेलु ग्राहकको सङ्ख्या बढे पनि विद्युत् चोरी नियन्त्रणमा गरेको सार्थक प्रयासले पनि सफलता हात लागेको हो । यस्तै उपभोक्ताको चेतनास्तरमा भएको वृद्धिले पनि आफूहरुलाई विद्युत् व्यवस्थापन गर्न सहज भएको प्राधिकरणको भनाइ छ ।
देशभर कुनै पनि स्थानमा विद्युत् अवरोध नभएको र नियमित रुपमा सहज तवरले विद्युत् उपलब्ध गराउन सकिएको प्राधिकरणको भनाइ छ । बत्ती, रङ र फूलको पर्वलाई आफूहरुले मेहनतका साथ सफल बनाएको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले आगामी दिनमा समेत यस्तै साथ र सहयोग उपभोक्ताबाट प्राप्त हुने विश्वास व्यक्त गरे।