सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गर्ने क्रममा सरकारले निर्माण व्यवसायलाई सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले असन्तुष्टि जनाएको छ ।
सरकारले शनिवार राजधानीमा एक कार्यक्रमबीच गत वर्ष सबैभन्दा बढी कर बुझाउने व्यवसायीक संस्था, बैंक, बिमा व्यवसाय, पर्यटन व्यवसाय, स्वास्थ्य शिक्षा सहित विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको थियो । तर, त्यसमा निर्माण क्षेत्रलाई भने सम्बोधन नगरिएको भन्दै महासंघले असन्तुष्टि जनाएको हो ।
महासंघका कार्यवाहक अध्यक्ष पेम्बा लामा शेर्पाले विज्ञप्ति मार्फत् समृद्ध नेपाल सुखी नेपालीको नारा सहित अघि बढेको सरकारले यसरी निर्माण क्षेत्रलाई नै उपेक्षा गर्नु उपयुक्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । कृषि पछि सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्र निर्माण जगत नै रहेको भन्दै विज्ञप्तिमा कर तिर्नेमा पनि निर्माण व्यवसायीहरु नै अग्र स्थानमा रहेको स्मरण गराइएको छ ।