सरकारले इजरायलमा केयर गिभर कामदारका रुपमा पठाउन छानेका एक सय १९ युवायुवतीमध्ये ४१ जना अलपत्र परेका छन्।
वैदेशिक रोजगार विभागले दुई वर्षअघि केयर गिभरका लागि दुई चरणमा गरेर एक सय १९ जनालाई छानेको थियो। एक वर्षअघि पहिलो चरणमा ५९ र ६ महिनाअघि दोस्रो चरणमा ६० जनालाई विभागले छनोट गरेको थियो। यसमध्ये अहिलेसम्म ७८ जनामात्र इजरायल गएका छन्।
बाँकी ४१ जना अलपत्र परेका हुन्। विभाग कर्मचारीका अनुसार इजरायलबाट माग नै नआएपछि छानिएका सबैलाई उडाउन सकिएको छैन।
पछिल्लो समय केयर गिभरको माग नै आउन छाडेकाले यो संकटमा परेको कर्मचारी बताउँछन्। ‘पाइलट प्रोजेक्ट’को रूपमा दुई वर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम सफल भएर ठूलो संख्याका युवायुवती रोजगारीका लागि इजरायल जान थाल्ने वैदेशिक रोजगार विभाग र इजरायली दूतावासबीचको समझदारी थियो।
‘आर्थिक र सुरक्षाको दृष्टिकोणले राम्रो मानिएको इजरायलमा रोजगारीका लागि जान सहज होस् भनेर विभागको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेका थियौं,’ विभागका एक धिकारीले भने, ‘तर कार्यतालिका अनुसार इजरायलबाट केयर गिभरको माग नआउँदा छानिएका व्यक्तिहरु उड्न पाएका छैनन्। नयाँ कार्यक्रम पनि अघि बढ्न सकेको छैन।’ नागरिक दैनिकमा खबर छ।