सरकारले युवालाई स्वरोजार बनाउन ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बैंकले कार्यान्वयन गर्न मानेका छैनन् ।
राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सहुलियपूर्ण कर्जा सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया’ कार्यक्रममा सहभागीले बैंकले कर्जा प्रवाह गर्न नमान्दा युवालाई स्वरोजगार बनाउन नसकिएको बताएका हुन् । कार्यविधिअनुसार सहुलियपूर्ण कर्जा प्रवाहका लागि बैंकको लगानी र व्यवसायीको बीमा गरे पनि बैंकले लगानी गर्न नमानेका हुन् ।
देशका बेराजगार युवालाई स्वरोजगार बनाउन अर्थमन्त्रालयले उक्त कार्यविधि ल्याएको हो । कार्यविधिअनुसार बैंकले युवालाई सहुलियतपूर्ण रुपमा गत कात्तिक २० गतेदेखि नै ऋण उपलब्ध गराउनुपर्ने रहेको थियो । बैंकले लगानीको सुरक्षा नभएको भन्दै ऋण दिन मानेका छैनन् । सरकारको बेरोजगार चार लाख युवालाई वार्षिकरुपमा उक्त कार्यविधिअनुसार कर्जा प्रवाह गरेर स्वरोजगार बनाउने योजना रहेको छ ।
उक्त योजना राष्ट्रिय युवापरिषद्ले सहजीकरण गरेर कार्यविधि गत असोजमा पारित गरिएको थियो । कार्यविधिमा बैंक तथा वित्तीय संस्थाले सहुलियत दरमा बेरोजगार युवालाई पाँच प्रतिशतको दरले १० लाखसम्म बिना धितो र १० लाखभन्दा बढी ऋण प्रवाह गर्दा अनिवार्य धितो राख्नुपर्ने उल्लेख छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष डा प्रेमप्रसाद दङ्गालले सबै बैंकले सम्झौताअनुसार युवालाई स्वरोजगार बनाउन एक खर्ब ३० अर्ब कर्जा प्रवाह गर्नुपर्ने बताउनुभयो । “बैंकहरुलाई के कारणले कर्जा प्रवाह गर्न समस्या भयो ? त्यो बैंकले भन्नुपर्दछ,” उनले भने, ‘‘तर सम्झौताअनुसार बैंकले युवालाई स्वरोजगार बनाउनका लागि भने कर्जा प्रवाह गर्नुपर्दछ ।”रासस