स्थलमार्ग हुँदै नेपाल आउने पर्यटक संख्यामा बृद्धि भएको छ। सन् २०१८ मा बेलहियाबाट नेपाल आउने विदेशी पर्यटक १० प्रतिशतले बढेका हुन्। अध्यागमन कार्यालय भैरहवाका अनुसार वर्ष सन् २०१८ मा एक लाख ६६ हजार २ सय ३५ पर्यटक स्थलमार्गबाट नेपाल आएका छन्। यो तथ्यांक भारतीय बाहेकको हो।
स्थलमार्गबाट आउने भारतीय पर्यटकको तथ्यांक राखिँदैन। गत वर्ष सन् २०१७ मा यो नाका हुँदै एक लाख ५० हजार ८ सय ४१ तेस्रो मुलुकका पर्यटक नेपाल भ्रमणमा आएका थिए। पछिल्ला वर्षहरुमा स्थलमार्गबाट नेपाल भित्रिने पासपोर्टवाहक पर्यटकको संख्या बढ्दै गएको अध्यागमन कार्यालय भैरहवाले जनाएको छ। यो नाका हुँदैं नेपाल आउने अधिकाश पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आउने गर्दछन्।
२०१८ मा बेलहियाबाट नेपाल प्रवेश गर्नेमा सबैभन्दा बढी श्रीलंकाका पर्यटक छन्। ५८ हजार ७ सय ६३ श्रीलंकनहरू आएका छन् भने थाइल्याण्डका ३२ हजार ७ सय ९२, म्यान्मारका ३० हजार ५९, भियतनामका ७ हजार २ सय ४१, दक्षिण कोरियाका ६ हजार ८ सय ६६ र चीनका ५ हजार २५ जना बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका छन्। यस्तै अन्य देशको पर्यटक बढे पनि स्थलमार्गबाट आउने थाई पर्यटकको संख्यामा भने केही कमी आएको छ। अघिल्लो वर्ष ३३ हजार ६ सय ९३ जना आएकोमा यो वर्ष ३२ हजार ७ सय ९२ आएका छन्।
अमेरिकीहरू २ हजार ३ सय ७९ जना, कम्बोेडियाका २१ सय ७५, नेदरल्याण्डका १६ सय ९४, बेलायतका १५ सय ४८, इन्डोनेसियाका १४ सय ४३, अष्ट्रेलियाका १३ सय ४७, जर्मनका १२ सय ६७, जापानका १२ सय ५४, मलेसियाका ११ सय ६०, फ्रान्सका ११ सय ३६ नेपाल भ्रमणमा आएको अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख छ।
स्थल नाकाबाट सबैभन्दा बढी २०१८ मार्चमा २८ हजार ८ सय ४८ पर्यटक आएका थिए। त्यस्तै नोभेम्बरमा २५ हजार ४२, फेब्रुअरीमा २१ हजार ३ सय ७२, अगस्टमा १८ हजार २ सय ३३, अक्टोबरमा १७ हजार १ सय ९३ थिए। अफ सिजनको रुपमा रहेको जुन महिनामा नाकाबाट १३ सय ८८ पर्यटक आएका थिए। यो नाका हुँदै आउने पर्यटकको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो। अन्य गन्तव्य पोखरा, चितवन, मनाङ, मुस्ताङ, काठमाडाैं र पाल्पा हुन्।