नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्ली अधिकारीले व्यवसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने बताएका छन्।
टेलिकमको मुख्यालय भद्रकाली प्लाजामा सोमबार पदभार ग्रहणपछि कर्मचारीहरुले आयोजना गरेकाे कार्यक्रममा उनले चौथो पुस्ताको ‘फोर जी’ सेवालाई देशभर विस्तार गरिने बताए। उनले सरकारले आगामी एक वर्षभित्र फोर जी सेवालाई विस्तार गर्ने कार्यादेश दिएकाले समयमै उक्त काम सम्पन्न गरिने बताए। टेलिकमले हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा विस्तार गरेको छ।
टेलिकमको सेवालाई गुनासोरहित गुणस्तरीय बनाउने सङ्कल्प आफूले लिएको स्पष्ट पार्दै उनले भने, 'सेवा सुधारमा मेरो प्रमुख ध्यान रहन्छ । त्यसमा सम्पूर्ण कर्मचारीको साथ सहयोग र सक्रिय सहभागिता रहन्छ भन्ने मैले विश्वास लिएको छु।' ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारमा समेत नजितामुखी काम गर्ने योजनामा आफू रहेको भन्दै प्रबन्ध निर्देशक अधिकारीले सरकारको योजना र लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा विस्तार र विकासमा लाग्ने स्पष्ट पारे।
नेपाल टेलिकमप्रति आम नागरिकको ठूलो सद्भाव, साथ तथा सहयोग रहेको भन्दै उहाँले व्यावसायिक कर्ममार्फत विश्वसनीय र गुणस्तरीय सेवा दिनु पर्ने बताए। गत साउन २९ गते टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि सरकारले अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।
कूल १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमले गत आर्थिक वर्षमा ३९ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो। टेलिकमले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई प्रतिशेयर ५५ रुपैयाँ मुनाफा दिने प्रस्ताव गरेको छ।