दोस्रो हिमालयन हाइड्रो एक्स्पो शुक्रबारदेखि काठमाडौमा सुरु भएको छ।
एक्स्पोमा सय भन्दा बढी कक्ष राखिएका छन्। चीन, भारत, अष्ट्रिया, दक्षिण कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया, बङ्गलादेश तथा बेलायतलगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनी एक्स्पोमा सहभागी छन्। एक्स्पोमा आधुनिक सौर्य प्रणाली, विद्युतीय सवारीसाधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, आकर्षणका रुपमा रहेको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले जनाएको छ।
काठमाडौको भृकुटीमण्डपमा सुरु मेलाको उद्घाटन गर्र्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारका रुपमा रहेको नेपालको ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी जरुरी रहेको बताए।
उनले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको त्यत्ति धेरै समस्या नभए पनि नीतिगत रुपमा केही सुधार तथा समयानुकूल बनाउनुपर्नेमा जोड दिए।
उपराष्ट्रपति पुनले ठूलो मात्रामा रहेको व्यापार घाटा अन्त्य गर्न पनि ऊर्जाको क्षेत्रमा केही न केही नयाँ गर्नैपर्ने अवस्था आएको बताए।
ऊर्जा क्षेत्रको विकास र विस्तारबाट मात्रै औद्योगिकीकरण सम्भव भएको भन्दै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास विस्थापन गर्न पनि विद्युत् नै उपयुक्त साधन भएको उनको भनाई थियो।
कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै उपराष्ट्रपति पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरे।