इण्डोनेशियाको लाइन एयरलाइन्सको विमान बोइङ ७३७ आज दुर्घटना भएको छ । जकार्ताबाट उडान भरेलगत्तै समुद्रमा खसेको थियो । फ्लाइट जेटी ६१० नम्बरको उक्त विमान इण्डोनेशियाको राजधानी जकार्ताबाट बांका बेलिटुङ टापुको पंगकल पिनाङ शहर जाँदै थियो ।
उडेको केहीबेरमै विमानसँगको सम्पर्क विच्छेद भएको थियो । विमानमा १८८ जना सवार थिए । राष्ट्रिय खोज तथा राहत उद्दार निकायका प्रवक्ता युसुफ लतीफले विमान दुर्घटनाको पुष्टि गरेका छन् ।
पत्रकार सम्मेलनमा अधिकारीहरुले विमानमा १७८ वयस्क, एक नवजात शिशु, २ बच्चा, २ पाइलट तथा चालक दलका ५ सदस्य रहेको बताएका छन् । उद्दार जारी रहेकाले थप विवरण आउन सकेको छैन ।
लाइन एयरले विज्ञप्तिमार्फत् विमानमा पाइलट निकै अनुभवी भएको र ६ हजारभन्दा बढी घण्टा उडान अनुभव भएको जनाएको छ । दुर्घटनाग्रस्त विमान बोइङ ७३७ म्याक्स ८ सन् २०१६ यतामात्र व्यवसायिक उडान थालेको विमान हो । यो विमान गत अगष्ट १५ देखिमात्र सन्चालनमा आएको थियो । बीबीसीबाट