साउदी पत्रकार जमाल खसोग्गीको हत्याको बारेमा पहिलो पटक टर्कीले आधिकारीक बयान दिएको छ। पत्रकार खसोग्गीको हत्या कसरी भएको थियो भन्नेबारे पहिलो पटक टर्कीले जवाफ दिएको खबर बीबीसीले लेखेकाे छ।
पत्रकार जमाल खसोग्गी दूतावास प्रवेश गर्ने वित्तिकै उनको घाँटी थिचेर हत्या गरिएको थियो। तर यसबारे टर्कीले कुनै पनि प्रमाण भने पेश गरेको छैन।
टर्कीले दिएको बयानका अनुसार ‘उनको हत्याको योजना पहिला नै तय भैसकेको थियो। योजना अनुरुप नै खसोग्गी साउदी अरबको वाणिज्य दूतावासमा प्रवेश गर्नेवित्तिकै घाँटी थिचेर हत्या गरियो र उनको शवलाई टुक्राटुक्रा गरी नष्ट गरियो।
साउदी नागरिक खसोग्ग अमेरिकी सञ्चारमाध्यममा काम गर्थे। उनी साउदी अरबको शासकको कडा आलोचकको रुपमा परिचित थिए। गएको अक्टोबर २ तारिखमा खसोग्गी इस्तानबुलको साउदी दूतावास गएका थिए जहाँ उनको हत्या गरिएको थियो। साउदी सरकारले सुरुमा दूतावासभित्रको उनको हत्या अस्वीकार गरेको थियो।