उनी हुन् साइबर सुरक्षा मन्त्री । तर उनैले अहिलेसम्म कम्प्युटर छोएका सम्म छैनन् । पेनड्राइभ कसरी प्रयोग गर्ने भन्ने कुरा पनि उनलाई थाहा छैन । यो समाचार हो, जापानका साइबर सुरक्षामन्त्री योशिताका साकुरादाको । उनले केहीदिनअघि संसदमा बोल्दै आफूले सार्वजनिक जीवनमा कहिल्यै कम्प्युटर नचलाएको स्वीकार गरेका हुन् । प्रधानमन्त्री सिन्जो आबेले हालै गरेको मन्त्रिपरिषद् पुनर्गठनमा उनी परेका थिए ।
गत बुधबार संसदमा विपक्षका प्रश्नको जवाफ दिँदैं उनले आफूले २५ वर्षको उमेरदेखि आफू मातहतका कर्मचारीलाई निर्देशन दिएपनि आफूले कहिल्यै कम्युटर नचलाएको बताएका हुन् । विपक्षी सांसदले साकुरादासँग परमाणु उर्जामा पेन ड्राइभको प्रयोगका विषयमा प्रश्न सोध्दा उनी अन्यौलमा परे । एक विपक्षी सांसदले त साइबर सुरक्षाको नीति बनाउने व्यक्तिले कहिल्यै कम्प्युटर नचलाएको कुरा विश्वासै गर्न नसकिने बताएका थिए ।
संसदको सवालजवाफ सार्वजनिक भएपछि सामाजिक सन्जालमा मन्त्री साकुरादाको विषयमा टिप्पणी सुरु भएको छ । एकजनाले भनेका छन्, ‘के उनलाई लाज लाग्दैन ? आज कुनै पनि कम्पनीका अध्यक्षसँग व्यक्तिगत कम्प्युटर हुन्छ, मन्त्री त पेनड्राइभ के हो भन्नेसम्म जान्दैनन् । ’ अर्का एकजनाले लेखेका छन्, ‘ह्याकरले मन्त्रीलाई निशाना बनाउन चाहेपनि सक्दैनन्, किनकि साकुरादासँग मजबूत सुरक्षा छ ।’ २२ वर्षदेखि सांसद रहेका मन्त्री साकुरादा सन् २०२० को टोकियो ओलम्पिक आयोजनासँग पनि सम्बद्ध छन् । एजेन्सीबाट