अमेरिकाको हवाईकी सांसद तुलसी गबार्डले सन् २०२० मा हुने राष्ट्रपति चुनावमा उम्मेदवारी दिने भएकी छन्। राष्ट्रपतिको चुनाव लड्ने उनी पहिलो हिन्दू हुनेछिन्। उनी अमेरिकाकै पहिलो हिन्दू सांसद पनि हुन्।
३७ वर्षीया गबार्डले सन् २०१६ को राष्ट्रपति चुनावमा बर्नी स्याण्डर्सको समर्थन गरेकी थिइन्। उनी त्यसवर्ष डेमोक्रेटिक नेशनल कमिटिको उपाध्यक्ष थिइन्। तर, स्याण्डर्सलाई समर्थन गरेपछि उनले पदबाट राजीनामा दिएकी थिइन्।
सन् १९८१ मा अमेरिकी समोआमा जन्मिएकी तुलसीले अमेरिकामा सबैभन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बन्ने इतिहास पनि रचेकी थिइन्। त्यतिबेला उनी २१ वर्षको थिइन्। उनी स्टेट सिनेटर माइक गबार्डकी छोरी हुन्। पछि उनले हवाई नेशनल गार्ड सर्भिसमा सामेल भएर एक वर्ष इराक युद्धमा पनि आफ्नो सेवा दिएकी थिइन्। उनले २०११ मा इण्डोनेशियाई सेनाका साथ शान्ति कार्यको तालिममा पनि भाग लिएकी थिइन्। २०१५ मा अमेरिकी सेनामा मेजर पद हासिल गरेकी उनी हालमा पनि सेनासँग सम्बन्धित छिन्।
उनले अमेरिकी राष्ट्रपति पदको उम्मेदवारीका लागि दाबी गरेपछि भारतमा पनि उनको नाम ट्वीटर ट्रेन्डिङमा पर्न सुरु भएको छ। उनलाई अमेरिकामा रहेका भारतीय र नेपाली हिन्दू समुदायको समर्थन प्राप्त हुने अनुमान गरिएको छ। गत वर्ष अमेरिकी समाचार च्यानलको एक कार्यक्रममा हिन्दूविरुद्ध भएको अभिव्यक्तिको उनले विरोध गरेकी थिइन्। उनले केही वर्षअघि हिन्दूविधिद्वारा बिहे गरेकी थिइन्।