भेनेजुएलाको राजनीतिक गतिरोध झन बढ्दै गएको छ ।
राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता खुआन गोइदोकाबीचमा जारी सत्ता संघर्षका कारण राजनीतिक संघर्ष नयाँ मोडमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भेनेजुएलको राजधानी करासमा विपक्षी नेता खुआन गोइदोका समर्थकहरु सडक संघर्षमा उत्रिएका छन् ।
उनीहरुले मादुरोले पद छाड्नु पर्ने माग राख्दै आएका छन् । तर बीबीसीसँगको अन्तरवार्तामा वर्तमान राष्ट्रपति मादुरोले अमेरिकी हस्तक्षेपविरुद्ध सहयोग गर्न अन्तर्राष्ट्रिय समूदायलाई आग्रह गरेका छन् ।
कराकसको प्रदर्शनलाई सम्वोधन गर्दै खुआनले जवसम्म भेनेजुएलामा स्वतन्त्र चुनाव नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । गत महिना वर्तमान राष्ट्रपति मादुरोले दोस्रो कार्यकालको सपथ लिएपछि राजनीतिक विवाद बढ्दै गएको हो ।
तत्कालिन चुनावमा मादुरोले धाँधली गरेको आरोप लगाउँदै विपक्षीले वहिष्कार गरेका थिए । त्यसपछि विपक्षी नेता खुआनले आफूलाई सडकबाटै अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । अन्तरिम राष्ट्रपति घोषणा गरे लगत्तै उनलाई अमेरिकासहित २० राष्ट्रले समर्थन गरेका थिए । जसलाई मादुरोले अमेरिकी हस्तक्षेपभनी टिप्पणी गरेका छन् ।