आज फेब्रुअरी १३ तारिख अर्थात विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक सामाजिक तथा सास्कृतिक संगठन युनेस्कोले सन २०११ को नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखमा विश्व रेडियो दिवस मनाउने घोषणा गरेको थियो। विश्व रेडियो दिवसको यस वर्षको नारा ‘संवाद, सहिष्णुता र शान्ति’ तय गरिएको छ।
विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९९ वर्ष भएको छ भने नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६८ वर्ष पुगेको छ। नेपालमा २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो। २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको थियो। अहिले एफएम रेडियोको संख्या ९ सय ६२ पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रशारक संघ अकोर्याबको वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलन आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु हुदैंछ।
विश्व रेडियो दिवसको अवसर पारेर अकोर्याब केन्द्रीय समितिले तीनदिने राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो।
सम्मेलनमा देशभरका ३५० सामुदायिक रेडियोका प्रमख तथा प्रतिनिधि, रेडियो अभियन्ता र सञ्चार क्षेत्रका अगुवाको सहभागिता रहनेछ। अकोर्याबका केन्द्रीय अध्यक्ष सुवास खतिवडाले सम्मेलनमा संघको वार्षिक गतिविधिको समीक्षा हुनाका साथै पछिल्लो समय बनेका सामुदायिक रेडियो विरोधी नीतिनियम र कानूनको विरोध गर्दै आगामी रणनीति तय गरिने जानकारी दिए।