वीपी कोइराला प्रधानमन्त्री भए लगत्तै उनी नेतृत्वको सरकारका अर्थमन्त्री तथा उनका निकट सहकर्मी सुवर्ण शमशेर प्रधानमन्त्रीको क्वाटरमा भेट गर्न गए। धेरैबेरको भलाकुसारीपछि सुवर्ण शमशेरले वीपीलाई आग्रह गर्दै भने, ‘कोइरालाजी, तपार्इँ समाजवादी छवि भएको मान्छे, अब तपार्इँले त्यो छवि जनताले महसुस गर्ने गरी तत्काल केही कार्यक्रम ल्याउनु पर्छ।’
सुबर्ण शमशेरको यो सुझावपछि वीपी अलिक हौसिए र भने,‘कस्तो कार्यक्रम ल्याउने सुबर्ण जी? तयारी गरौं न त।’‘विर्ता उन्मुलनको कार्यक्रम ल्याउनु पर्याे कोइराला जी।’ ‘यो के भनेको सुबर्णजी? यसले त सबैभन्दा बढी क्षति तपाईँलाई हुन्छ।’‘एउटा साथीको छवी उचो बनाउन र राष्ट्रमा परिवर्तनको अनुभूति दिलाउन म त्यति क्षति व्यहोर्न तयार छु कोइरालाजी।’
वीपी भावुक भए र भने,‘त्यसो भए यसको पूरा तयारी तपार्इँले गर्नुस्, विर्ता उन्मुलनको घोषणा गर्छु।’ माथि उल्लेखित सन्दर्भ कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एउटा अनौपचारिक भेटका क्रममा व्यक्त गरेका हुन्। यो सन्दर्भले राजनीतिमा आफ्नो सहकर्मीको सफलताका लागि र उसको छवि उज्वल बनाउनका लागि कतिसम्म योगदान गर्न तयार हुुनुपर्दो रहेछ भन्ने कुराको चित्रण गर्दछ।
कांग्रेसको राजनीतिमा भन्ने गरिन्छ, दुईवटा पार्टी मिलेर बनेको कांग्रेसमा सधै गुट थिए र अहिले पनि गुट छन्। अझ थप्ने गरिन्छ, वीपी र सुबर्णको गुट कहिल्यै मिलेनन्। अर्काको नजरमा कहिल्यै नमिलेको देखिने दुई गुटका नेताबीचको यो सम्बाद, सहकार्य र एकअर्काप्रतिको उच्च सम्मानभाव कतिका लागि अस्वाभाविक पनि लाग्ला। तर, एउटा नाटकको संवाद जस्तो देखिने उच्च आदर्श र चेतनाले भरिएको उल्लेखित संवादको मर्म आजको पुस्ताका राजनीतिकर्मीहरुमा देखिँदैन।
वीपी असाधारण गुण भएका नेता थिए। उनको व्यक्तिको चर्चा गर्दा कुन सन्दर्भबाट गर्ने भन्ने कुरामा सबै अलमलमा पर्छन्। एउटा सुन्दर सपना आफैले देख्ने, त्यो सपना साकार पार्न आफैले रणनीति निर्माण गर्ने, रणनीति निर्माण गर्दा क्रान्तिको आवश्यकताको औचित्यलाई स्थापित गरिदिने, त्यो क्रान्तिको नेतृत्व आफैले गर्ने, परिवर्तनपछि नेतृत्व सम्हाल्ने र आफ्नो नेतृत्वमा नयाँ राजनीतिक इतिहासको जग बसाल्ने मात्र होइन, परिवर्तनका कार्यक्रमहरुको कार्यान्वयनको प्रारम्भसमेत आफै गर्ने अवसर एउटै व्यक्तिले प्राप्त गर्नु आफैमा विशिष्ट गुण हो। यति सबै कुरामा आफै संलग्न हुने अवसर पाउने संसारका थोरै नेताहरुमा पर्दछन् वीपी कोइराला।
उमेर अथवा समयका कारण पनि यति सबै कुरामा आफै जोडिन त्यति सम्भव मानिदैन। त्यतिमात्र होइन, यी सबै प्रक्रियामा नेतृत्व गर्दा फरक फरक क्षमताको उच्च प्रदर्शन जरुरी हुन्छ। एउटै पात्रले सोच बनाउनेदेखि परिवर्तनको नेतृत्व गर्दै त्यसको कार्यान्वयन गर्नेसम्मको भूमिका निर्वाह गर्दै गर्दा फरक–फरक क्षमताका साथ फरक–फरक भूमिका निर्वाह गर्नु पर्ने हुन्छ।
कोही चिन्तन मात्र गर्दछ, कोही क्रान्तिमात्र गर्दछन्, कोही परिवर्तनको ऐजेण्डालाई संस्थागत गर्दै राष्ट्र निर्माणको अगुवाई मात्र गर्दछन्। किनभने, यी सबै फरक–फरक तरिका र क्षमतालेमात्र सम्भव हुन्छ। तर, वीपी कोइरालाले यी सबै क्षमता आफै प्रदर्शित गरेर संसारलाई असम्भव केही छैन भन्ने कुरा देखाइदिएका छन्। यसैकारण वीपी कोइरालालाई असाधारण क्षमताका धनी नेताका रुपमासमेत चित्रण गरिन्छ।
फरक गुटका भनेर अहिलेसमेत प्रचार गरिएका सुवर्ण शमशेरबाट वीपीले त्यो ढंगको साथ पाउनु चानचुने कुरा होइन। वीपीको क्षमता र उनीप्रतिको विश्वासका कारण सुवर्णले आफूलाई व्यक्तिगत रुपमा घाटा हुने गरी योजना ल्याउन सुझाए। विर्ता उन्मुलनका क्रममा काठमाडौंमा रहेको सुवर्णको थुप्रै जमिन राज्यले अधिकरण गर्याे। आफ्ना सहकर्मीहरुको यो ढंगले विश्वास जित्ने र हरप्रकारको सहयोग लिनसक्ने अद्भुत क्षमता वीपीमा देखियो। यस्तो क्षमता समकालिन नेताहरुमा कल्पनासमेत गर्न सकिँदैन।
वीपी कोइराला समाजका लागि गरिने हरेक कर्मभित्र जीवन खोज्दथे। राजनीतिभित्र जीवन खोज्थे, विकासभित्र जीवन खोज्थे, पद्दतिभित्र जीवन खोज्थे, सम्बन्धभित्र जीवन खोज्थे। यतिमात्रै होइन, सीप र सम्बन्धभित्र पनि जीवन खोज्दथे। सुवर्णसँगको उल्लेखित सन्दर्भमा दुई नेताका बीचको सम्बन्धमा जीवन थियो भन्ने प्रष्ट देखिन्छ।
विदेशमा इन्जिनियरिङ पढ्ने नेपाली विद्यार्थीहरुलाई सम्बोधन गर्दै वीपीले भनेका थिए,‘तपाईँहरुले पढ्दै गर्दा नेपाली माटोमा प्रयोगात्मक अभ्यास गर्न पाउनु भयो भने तपाईँहरुको सीपले सुन्दर नेपाल बनाउन सकिन्छ, त्यसैले म नेपालमै प्राबिधिक शिक्षा सिक्ने र नेपाली माटोमा त्यसको प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्ने मान्यता राख्दछु।’
आज राजनीति, पद्दति, विकासलगायतका सबै कुरा प्राविधिक रुपमा अगाडि बढाइएको महसुस भइरहन्छ, त्यहाँ जीवन भेटिदैन। वीपी ग्रामिण अर्थतन्त्रका पक्षपाति थिए। गाउँमै उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने र सुन्दर अनि आत्मनिर्भर गाउँहरुको देशका रुपमा नेपाललाई चिनाउने उनको सुन्दर सपना थियो। अहिले अधिकार सम्पन्न स्थानीय निकाय बनेका छन्। ती स्थानीय निकायले उत्पादन वृद्धि गर्दै आफूलाई आत्मनिर्भर र सुन्दर बनाउन सक्ने बैधानिक हैसियत पनि राख्दछन्।
अब आफूलाई जीवन्त बनाउँदै सबैको विश्वास जित्ने काम उनीहरुबाट हुन सक्यो भने आत्मनिर्भताको जीवन्त मार्गमा आफूलाई उभ्याउन सक्ने नैतिक आधार उनीहरुले प्राप्त गर्न सक्छन्। यो दिशामा स्थानीय निकाय हिड्न सके भने वीपीले देखेको सपना पूरा गर्ने एउटा सानो प्रयास मानिने छ। तर, विजयको उन्मादको प्रदर्शनी र करको बोझ थप्ने भन्दा फरक सोच्नै नसकेर स्थानीय निकायहरु अलमलिइरहेका छन्।
कांग्रेस महामन्त्रीसमेत रहेका वीपी पुत्र डा. शशांक कोइरालाले भन्ने गर्दछन्, ‘वीपीसँग सपना थियो, समय थिएन। हामीसंग समय छ सपना छैन।’ अब वीपीको सपनाको सान्दर्भिकतालाई जीवन्त ढंगले कार्यान्वयन तहमा लैजाने दायित्व उनकै पुत्रसमेत नेतृत्वमा रहेको कांग्रेसले निर्वाह गर्नुपर्दछ। तर, त्यसका लागि सबैभन्दा पहिले पार्टीलाई प्राविधिक रुपमा सञ्चालन गर्ने होइन जीवन्त रुपमा सञ्चालन गर्ने बलियो अठोट आवश्यक पर्दछ। वीपी जयन्तीले यस्तो अठोट गर्ने प्रेरणा दिने विश्वास गरौं।