मकवानपुरको थाहा नगरपालिका-११ टिष्टुङको देउरालीमा स्कुल बसमा आगजनी भएको छ। उक्त गाडी भन्सारबाट छुटाएर काठमाडौं लगिँदै थियो। आगजनी बन्दकर्ता नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले नै गरेको भन्ने पुष्टि भएको छैन ।
यसैबीच, बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । पूर्वपश्चिम राजमार्गमा प्रहरीको बाक्लो उपस्थिति छ भने बिहानै पूर्वबाट आएका सवारीलाई स्कर्टिङ गरी महेन्द्रराजमार्ग हुँदै काठमाडौँतर्फ पठाइएको छ। केही ठाउँमा लुकेर पेट्रोल बम हानेको पाइएपनि आगजनी र बिस्फोट हुन नपाएको प्रहरीले जनाएको छ ।
यसैगरी झापाको गौरादह नगरपालिका ७ वडा कार्यालयनजिक पनि आज बिस्फोट भएको छ। ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवननजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले बताए। बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ।
घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताए। प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि पाँच सय मिटर टाढा छ।
जिल्लाको दमकबाट सोमबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।