प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले अब अस्थिरताबाट देश चल्न नसक्ने बताएका छन्।
मुख्यमन्त्री पोख्रेलले सरकारका काममा निरासाको खेती गरेर अस्थिरता ल्याउन खोजेको भन्दै अब त्यस्तो सपना नदेख्न आग्रहसमेत गरे।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोख्रेलले विषेश गरी विपक्षी दल कांग्रेसले वर्तमान सरकारले केही गर्न सकेन भनेर जनतामा निराशाको हल्ला फिजाएर आफू राम्रो बन्न खोजेको आरोप लगाए।
एमाले र माओवादी मिलेपछि कांग्रेसले भ्रमको खेती गर्न थालेको उनको आरोप छ।पार्टी एकीकरण नहुँदा दुई पार्टीलाई लडाउने भूमिकामा देखिएको र एकीकरणपछि हरेक मुद्दामा समस्या देखाएर सरकारबारे नकारात्मक हल्ला फिजाउन सक्रिय बनेको उनले बताए।
उनले सरकार जनताको अधिकार, न्याय र देशको समृद्धिका लागि प्रतिबद्ध रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे। मुख्यमन्त्री पोख्रेलले नयाँ संरचनामा सरकारले लिन थालेका करका बारेमा अनावश्यक टिप्णी भएको गुनासो गरे।
उनले सधैभरि अरुको भरमा मुलुक चल्न नसक्ने भन्दै उनले देशको विकासकै लागि राजस्व संकलन अनिवार्य भएको बताए।