रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, धार्पानीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् ।
रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो धारपानीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका–२, का अन्दाजी २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, अन्दाजी ३५ वर्षीय कुमार पुन, अन्दाजी ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचनको मृत्यु भएको प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका सातै जनाको रुकुमकोटस्थित अस्पतालमा उपचार भइरहेको छ । जिप सडकभन्दा झण्डै ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । वर्षाका कारण बाटो चिप्लो भएकाले जिप दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।