नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले अपरम्पराबादी त्रास देखाएर राज्य आतंक मचाउन खोजेको आरोप लगाएका छन् । आफ्ना विरोधीलाई अरिंगाल झैँ आक्रमण गर्न प्रधानमन्त्री ओलीले नेता–कार्यकर्तालाई अमानवीय निर्देशन दिएको भन्दै निधिले आलोचना गरेका छन् ।
आइतवार नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश २ को प्रथम अधिवेसनलाई सम्बोधन गर्दै पुर्व उप–प्रधान एवं गृहमन्त्री समेत रहेका निधिले प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर अरिंगालको आक्रमण गर्न निर्देशन दिनु अमानवीय एवं असैद्धान्तिक भएको भन्दै मानवअधिकार आयोगलाई समेत ध्यानाकर्ष गराए ।
उनले भने, ‘सरकारकारको विरोधमा बोल्नेहरुलाई प्रधानमन्त्री ओलीले आफ्ना नेता कार्यकर्ताहरुलाई अरिंगाल जस्तै आक्रमण गर्न निर्देशन दिएर तर्साउन खोजेका छन् ।’ उनले भने, ‘यस्तो आक्रमण विश्व युद्धको बेला हुने गर्दथ्यो । यसप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुको ध्यानाकर्षण हुनु पर्छ । अन्यथा मानव अधिकारको कुनै औचित्य रहँदैन ।’
उनले वर्तमान सरकार अधिनायकवादी सरकार रहेको बताउँदै सरकारलाई वैचारिक तथा सैद्धान्तिक राजनीति गर्न चुनौती समेत दिएका छन । अहिले मुलुकभर हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराध बढेको बताउँदै निधिले ओली सरकार निरिह बनेकोे बताए ।
वर्तमान सरकार दुई तिहाइको दम्भमा राजनीतिक आस्थाको आधारमा कर्मचारीहरुलाई प्रताडित गर्ने गरेको उनको भनाई छ । पत्रकार तथा कर्मचारीहरुमाथि आक्रमण गर्ने सरकारकारको कार्यशैलीले देश गम्भीर दुर्घटनातर्फ फस्ने निधिले दाबी गरे ।
लोकतान्त्रिक आन्दोलनमा स्वास्थयकर्मीहरुले दिएका योगदान स्मरण गर्दै उपसभापति निधिले स्वास्थयकर्मीहरुलाई अरिंगाल आक्रमणको उपचार खोज्न आह्वान गरे ।
निर्मला पन्त हत्याको छानबिनगर्न सरकारले ढिलाइ गरिरहेको बताउँदै निधिले यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।
शनिवार प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्ध चौतर्फी आक्रमण गर्नेमाथि ’अरिंगालले’ झै एकजुट भएर प्रतिवादमा उत्रन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।