प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पहिलो चरणको शिक्षा विमा अन्तर्गत यस आर्थिक वर्षमा ५ वर्ष मुनिका ५ हजार बालिकाको शिक्षा विमा गर्ने प्रतिबद्धता जनाएका छन् ।
धनुषाको क्षिरेश्वरनाथ ५ स्थित मदरसा अनवारुल उलुमले मंगलवार आयोजना गरेको बेटी पढाउ , बेटी बचाउ कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश भित्रका सबै वालिकाको विमा गरिने कार्यक्रम रहेपनि यस आर्थिक वर्षमा ५ हजार वालिकाको विमा गराउन लागेको बताए । पहिलो चरणको विमामा दलित, मुस्लिम र आर्थिक रुपले विपन्न परिवारको बालिकाको विमा गरिने उनको भनाई छ ।
उनले समाज रुपान्तरणका लागि महिला शिक्षाको महत्वलाई मध्यनजर गर्दै प्रदेश सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम संचालन गरि रहेको उल्लेख गर्दै कार्यक्रम अन्तर्गत यस वर्ष प्रत्येक जिल्लामा एक ÷एक हजार साइकल वितरण समेत गरिने बताए ।
मुख्यमन्त्री राउतले प्रदेश नं. २ मा मुस्लिम समुदायको अवस्था दलित भन्दा पनि पछाडी रहेको उल्लेख गर्दै छोरा छोरीको समान शिक्षामा जोड दिन आग्रह गरे ।उनले भने ,‘ हाम्रो सोँचमा अझै परिवर्तन आउन सकेको छैन, छोरा र छोरीलाई हाम्रो समाजले समान व्यवहार गर्न नसकेकै कारण हामी पछाडी परेका छाैँ , अवको हाम्रो सोच समान शिक्षा तर्फ अग्रह हुनु पर्दछ । अनि मात्र हामी समाजलाई अगाडी बढाउन सक्छौँ ।’उनले प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ कार्यक्रममा स्थानीय तहलाई पनि सहयोग गर्न आग्रह गरे ।